चिनी उद्योगबाट पुरानो भुक्तानी नपाएपछि सस्तैमा सख्खर उद्योगलाई उखु बेच्दै किसान।

सर्लाही:= जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका किसानले दुई साताअघि देखि स्थानीय क्रसर उद्योगमा धमाधम उखु बिक्री गर्न सूरु गरेका हुन् । लगातार चारवर्ष चिनी उद्योगमा उखु बिक्री गरेको भुक्तानी नपाएपछि यस क्षेत्रका किसान झण्डै आधा मूल्यमा सक्खर उत्पादन गर्ने स्थानीय क्रसर उद्योगलाई बिक्री गर्न थालेका छन् ।

बढदो महंगीका बीच पनि तीनवर्ष अघि सरकारले तोकेको मुल्य भन्दा आधा कम मुल्यमा किसानले उखु बिक्री गरिरहेका छन् । गतवर्ष किसानलाई भुक्तानी नदिएकै कारण धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनमा आउनसकेको थिएन । अन्नपूर्णले त्यस अघि तीन वर्षको करिव २४ करोड रुपैयाँ किसानलाई दिएको छैन । किसानको बक्यौता राखेको अन्नपूर्ण बन्द भएपछि यस क्षेत्रका किसानले बगदह स्थित महालक्ष्मी चिनी उद्योगमा उखु बिक्री गरेका थिए । महालक्ष्मीले पनि किसानको पुर्णरुपमा भुक्तानी सकेको छैन । महालक्ष्मीले किसानलाई सात करोड रुपैयाँ तिर्न बाँकी छ ।

चिनी मिलहरुले नगदे बाली भनिएको उखुको बक्यौता राख्न थालेपछि किसानले विकल्पको रुपमा स्थानीय क्रसर उद्योगलाई रोज्न थालेका छन् । सरकारले तीन वर्ष देखि उखुको प्रति क्वीन्टल ५३६ रुपैंया ५६ पैसा मुल्य तोक्दै आएको छ । मुल्य तय भएपनि भुक्तानी नपाएपछि किसानहरु बढ्दो महंगी खेप्दै आधा भन्दा कम मुल्यमै स्थानीय क्रसर उद्योगमा उखु बेच्न बाध्य छन् । यहाँका क्रसर उद्योगले प्रतिक्विन्टल तीनसय रुपैयाँ देखि तीनसय पचास रुपैयाँ सम्ममा किसानको उखु खरिद गरिरहेका छन् ।

गहुँ, मुसुरो, तोरी सहित हिउँदे बाली लगाउने बेला भएकाले यस क्षेत्रका किसानलाई खुट्टी उखु तत्काल हटाउने चटारो छ । किसानको त्यही अफ्ठ्यारोको फाइदा उठाउँदै स्थानीय क्रसर उद्योग सञ्चालकले निकै कम मुल्य दिएर किसानको उखु खरिद गरिरहेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा दुई दर्जन भन्दा बढी उखु क्रसर उद्योग सञ्चालनमा छन् । केही भने सञ्चालनको तयारी गरिरहेका छन् । चिनी उद्योगले भुक्तानीमा झमेला गरेपछि क्रसर उद्योगमा उखु बेच्न थालेको किसानको भनाइ छ ।

चिनी मिलले भुक्तानीमा झमेला गरेपछि जिल्लाको दक्षिणी क्षेत्रमा क्रसर उद्योग फस्टाइरहेको छ । कात्तिक महिनामा उखु पेल्न सुरु गरेको क्रसर उद्योगहरु बैसाख महिनासम्म चल्ने गरेका छन् । यस बीचमा उनीहरुलाई भ्याइ नभ्याइ हुने गरेको छ । सक्खरको मुल्य कम भएको र सरकारले सक्खरमा अनुदान पनि नदिएकाले किसानको उखु सस्तोमा खरिद गर्नुपरेको क्रसर सञ्चालकहरुले बताएका छन् । एक क्वीन्टल उखुबाट झण्डै १० किलो सक्खर तयार हुने भएकाले सक्खरको मुल्य अनुसार उखुको मुल्य तय गर्ने गरिएको क्रसर सञ्चालकहरुको भनाई छ ।

पछिल्लो समय उखु किसान यो खेतीबाट नै निराश हुन थालेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनु भयो । चिनी उद्योगले वर्षौंसम्म भुक्तानी नदिने र नेपाल सरकारले समेत अनुदान रकममा निकै ढिलासुस्ती गर्ने गरेका कारण किसानमा निराशा बढ्दै गएको मैनालीको भनाइ छ । ‘बर्षेनी बढ्दो महंगी तथा लागत अनुपात अनुसार उखुको मुल्य समायोजन नहुने समस्या एकातिर छ, अर्कोतिर चिनी उद्योग र स्वयं सरकारबाट समयमै भुक्तानी नपाउनाले उखु किसान निराश छन्’, उहाँले भन्नु भयो, ‘निराश कै कारण किसान सस्तोमा उखु क्रसर उद्योगलाई बेचिरहेका छन् ।’

उहाँले यहाँका उद्योगले भुक्तानी गर्न आलटाल गर्न थालेपछि किसानले विकल्पको रुपमा उखु पेल्ने क्रसरलाई रोज्न थालेको जानकारी दिनुभयो । किसानले नगदै पाउनका लागि सस्तोमा भएपनि क्रसर उद्योगमै उखु बिक्री गरिरहेको मैनालीले बताउनु भयो ।

चिनी उद्योगलाई चार वर्ष अघि बिक्री गरेको उखुको भुक्तानी नपाएकै कारण यसवर्ष कम मुल्य भएपनि नगद पाउने भएपछि क्रसर उद्योगलाई उखु बिक्री गरिरहेको स्थानीय किसान सुरेन्द्र यादवले बताउनु भयो । ‘किसानलाई चिनी उद्योगमा नै उखु बिक्री गरे फाइदा हुन्छ, तर चिनी उद्योगमा बेचेर के गर्नु, चार वर्ष देखिको भुक्तानी पाउन सकेको छैन’, उहाँले भन्नुभयो, ‘नगद पाउनकै लागि उचित मुल्य भन्दापनि सस्तोमा क्रसर उद्योगलाई उखु बिक्री गरिरहेको छु ।’

सर्लाहीमा यो वर्ष २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती भएको छ । सर्लाहीमा हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको भुक्तानी प्रकृया राम्रो भएपनि धनकौलको अन्नपूर्ण र बगदहको महालक्ष्मीले भुक्तानीमा निकै ढिलाई गर्ने गरेका छन् । त्यस्तै सरकारले समेत अनुदान उपलब्ध गराउन ढिला गर्ने गरेकाले किसान उखु खेतीप्रति निरास बन्दै गएका छन् ।