कोरियोग्राफीलाई बलियो बनाउँदै काजिश

काठमाडौं । नेपाली म्युजिक भिडियो निर्देशनको क्षेत्रमा चिनिएको नाम हो काजिश श्रेष्ठ । पछिल्लो समय म्युजिक भिडियो बढी निर्माण भइरहेका बेला काजिशलाई फुर्सद छैन । एक दशकअघिदेखि म्युजिक भिडियोको क्षेत्रमा अभिनय गरेर प्रवेश गर्नुभएका उहाँ अहिले निर्देशक भनेर बढी चिनिनु हुन्छ । केही भिडियोहरूमा अभिनय गर्नु भएको छ तर उहाँले पछिल्लो समय अभिनयभन्दा बढी आफूलाई निर्देशनमा अब्बल बनाउँदै लैजानु भएको छ ।

सरिता कार्की र वीरही कार्कीको स्वरमा रहेको ‘मायालु हजार’ लोक गीतबाट मोडलिङ गरेर प्रवेश गर्नुभएका काजिशले काम गर्दै जाँदा म्युजिक भिडियो निर्देशनका हात हालेपछि फापेको छ । आजसम्म उहाँले झण्डै पाँच सयवटा म्युजिक भिडियोमा कोरियोग्राफी तथा निर्देशन गर्नुभएको छ । यस्तै झण्डै सयवटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । म्युजिक भिडियोको काममा कोरियोग्राफी र निर्देशन निकै महŒवपूर्ण रहन्छ ।

पछिल्लो समय दर्शकले गीतसंगीतमा नयाँ पन खोजिरहेको अवस्थामा काजिशले आफ्नो कोरियोग्राफीलाई अझ बलियो बनाएर लैजाँदै हुनुहुन्छ । उहाँ काजिशसँग हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले गर्नुभएको कुराकानी ः– 

निकै व्यस्त हुनुहुन्छ नि ! के कारण होला ? 

अहिलेको समयमा बढी म्युजिक भिडियो निर्माण भएको अवस्थामा बढी व्यस्त हुनु स्वभाविक हो तर आजसम्मको मेरो मिहिनेतका कारण आज काममा व्यस्त भएको हुँ जस्तो लाग्छ । मैले सुरुवातका दिनमा मिहिनेतका साथ गरेको काम धेरैलाई देखाउने मौका पाए र आज त्यसैले धेरैले मलाई विश्वास गरेर काम दिइरहनु भएको छ । 

म्युजिक भिडियोमा कोरियोग्राफी कत्तिको गाह्रो काम हो ? 

भिडियोमा कोरियोग्राफीको काम गाह्रो काम हो । भिडियोको पूरा निर्देशन र कोरियोग्राफी गर्ने छुट्टाछुट्टै पनि राख्ने गरिन्छ तर मेरो हकमा दुवै काम मैले नै गरेको छु । गीतअनुसार कलाकारलाई नचाउन र कलाकार अनुसार सुहाउने र गर्नसक्ने ‘डान्स स्टेप’ दिन सक्नु एक कला पनि हो । कोरियोग्राफरले जति मिहिनेत र सुहाउने तरिकाले काम गर्छ भिडियो राम्रो बन्न धेरै ‘प्लस’ हुन्छ ।

कोरियोग्राफी र निर्देशक एकै व्यक्तिले गर्दा भद्रगोल हुँदैन ?

मेरो विचारमा हुँदैन । किनकी निर्देशन र कोरियोग्राफी एकै प्रकारको काम हो । छायांकन र निर्देशन फरक हुन सक्छ । तर कोरियोग्राफी र निर्देशन एकअर्कामा मिल्ने कुरा हुन् त्यसैले निर्देशकले नै कोरियोग्राफी गर्न सक्छ भने त्यो एकै व्यक्तिले गर्दा पनि राम्रो हुन्छ । हुन त फरक–फरक व्यक्ति हुँदा राम्रो त हुँन्छ एक कुरामा धेरै दिमाख लगाएर काम गर्न सकिन्छ तर निर्देशकमा पनि कोरियोग्राफीको दक्षता छ भने फरक पर्दैन ।

अहिलेसम्म कहलिएका कति कलाकारलाई नचाउनु भएको छ ? 

अहिले नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरू पनि म्युजिक भिडियोमा काम गर्न इच्छुक राख्नु हुन्छ । यो समयमा चलचित्रको काम सुरु नभएकाले धेरै कलाकार म्युजिक भिडियोमा व्यस्त हुनुहुन्छ । म्युजिक भिडियो तथा चलचित्रका पछिल्लो समयका लोकप्रिय कलाकारहरू पल शाह, पुष्प खड्का, पूजा शर्मा, रियाशा दाहाल, दुर्गेश थापा, दिपिका प्रसाईंलगायत दर्जनौं कलाकारलाई पर्दामा उतारेको छु । 

चर्चित कलाकारसँग काम गर्न निर्देशनलाई कत्तिको लोभ हुन्छ ?

लोभभन्दा पनि रहर हुन्छ । हामीलाई पनि राम्रो कलाकारसँग काम गरौं, राम्रो भिडियो बनाउँ, हामीले काम गरेको भिडियो धेरै दर्शकको आँखामा परोस् भन्ने चाहना त अवश्य हुन्छ । त्यसले निर्देशकलाई पनि ‘प्लस’ गर्छ, दर्शकले पनि चलेका कलाकारलाई भिडियोमा हेर्न पाउँदा त्यो भिडियोलाई माया गर्नुहुन्छ । चाहनामात्र भएर पनि हुँदन, कतिपय निर्माताले नै कलाकार छनोट गर्नुहुन्छ भने कतिपय अवस्थामा गीतको कथा अनुसार सुहाउने कलाकारलाई छनोट गर्नुपर्ने हुन्छ ।

तपाइँ निर्माताको आधारमा चल्नुहुन्छ कि निर्देशकको आधारमा निर्मातालाई लगानी गर्न लगाउनु हुन्छ ? 

यो कुरा निर्मातामै भर पर्छ । कुनै निर्माता खर्चमा कुनै कमी गर्दिन भिडियो राम्रो बन्नुपर्छ अथवा कथाले मागेजति खर्च गर्छु भन्नुहुन्छ तर कतिपयले भने सुरुमै आफ्नो बजेट सुनाउनु हुन्छ । त्यसैले कतिपय अवस्थामा निर्माताको आधारमा पनि चल्नुपर्छ । कतिपय अवस्थामा निर्माताले नै हामीसँग सल्लाह लिनुहुन्छ । कुन कलाकार राख्ने, कहाँ छायांकन गर्ने भन्ने कुराहरू छलफलमै हुन्छ । 

नामकै लागि लाखौं खर्च गर्ने निर्माता धेरै भेटिन्छन्, निर्देशकको हैसियतले निर्मातालाई कत्तिको बचाउनु हुन्छ ? 

हो, कतिपयले आफ्नो नामकै लागि लाखौं खर्च गरेको देखिन्छ तर पैसा खर्च गर्छन् भन्दैमा उहाँहरूलाई फसाउनु हुँदैन । किनकी निर्माता बाँचेमात्र कलाकार, निर्देशक बाँच्ने हो । त्यो कुरा बुझ्नु आवश्यक छ । मेरो हैसियतमा कतिपयले थोरै लगानी गरेर हुने ठाउँमा पनि अनावश्यक खर्च गरेको देख्छु त्यस्तो अवस्थामा मैले यसो गर्नुस् यसो नगर्नुस् भन्नेर सल्लाह दिने गरेको छु । 

अझै पनि यो काम गर्न पाएको छैन, यस्तो गर्न पाए हुन्थ्यो भन्ने चाहना छ ? 

भिडियो कोरियोग्राफी तथा निर्देशनको क्षेत्रमा चलेको कलाकारसँग काम गरेको छु, भनेको जस्तो भिडियो बनाउन पाएको छु । त्यस्तो ठूलो चाहना त केही छैन तर सधैं दर्शकको मनमा बस्न पाउँ । निर्माताहरूबाट काम पाइराखुँ, कलाकारहरूको मनमा बस्न सकुँ, त्यो चाहना सधैं रहन्छ ।

अहिलेको समयमा तपाइँले कति लगानीसम्मको म्युजिक भिडियो निर्माण गर्नुभएको छ ? 

नेपाली म्युजिक भिडियोको क्षेत्रमा पछिल्लो समय लाखौं खर्च हुन्छ । दश लाख, बाह्र लाखसम्म खर्च गरेर म्युजिक भिडियो निर्माण भइरहेका छन् । मेरो हकमा हालसम्म ७ लाख लगानीको भिडियोमा काम गरेको छु । निर्माताले राम्रो लोकेसन राम्रो कलाकारलाई राख्न चाहनु हुन्छ । सबैकुरा राम्रो राख्दा लगानी बढी अवश्य हुन्छ तर त्यसको ‘आउटपुट’ भने पछिल्लो समय निकै कम छ । केही कम्पनीहरूले युट्युबबाट राम्रो आम्दानी गरेका छन् । कतिपयले भने निरन्तरता तथा रहरले गीतसंगीतमा हात हालेको देखिन्छ । 

अन्त्यमा, एक निर्देशकको पारिश्रमिक कति हुन्छ, भन्न मिल्छ ?

यति नै भन्ने हुँदैन, त्यो कामअनुसार, भिडियो अनुसार फरक पर्छ । कति ठूलो काम, कति दिनको काम भन्ने कुरामा भर पर्छ । पारिश्रमिक यति नै हुन्छ भनेर तोक्नुभन्दा नि भिडियोको सफलता र असफलताको श्रेय निर्देशकलाई नै जान्छ । राम्रो भएन भन्ने कमेन्ट पनि निर्देशकको टाउकोमा आउँछ । जोखिम धेरै छ ।