पारसले भने मलाई गौतमबुद्ध क्रिकेट रंगशालामा खेलेर सन्न्यास लिने इच्छा छ।

काठमाडौं:= नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलेर आफ्नो खेल करिअरबाट सन्न्यास लिने इच्छा व्यक्त गर्नुभएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकनका लागि सोमबार त्यहाँ पुग्नु भएका पारसले उक्त कुरा बताउनुभएको हो ।

‘एक वर्षअघि मैदानमा पुग्दा कहिले बन्छ जस्तो भएको थियो । अहिलेको प्रगति हेर्दा एकदमै उत्साहित भएको छु,’ पारसले भन्नुभयो, ‘सोचेको भन्दा एकदमै बढी काम भएको पाए । लकडाउनमा सबै कुरा बन्द हुँदा पनि मैदानको काम भइरहेको देखियो । क्रिकेट खेलाडी भएकाले उत्साहित भएको छु । मलाई मेरो क्रिकेट खेल करिअर सकाउनुभन्दा अघि यहाँ आएर खेल्न मन छ ।’

नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तानसमेत रहनुभएका पारसले नेपालीलाई डिभिजन पाँचबाट डिभिजन एकसम्म उकाल्नुभएको थियो । पारसको कप्तानीमा नेपालले २०१४ को टी–२० विश्वकप खेलेको थियो । यस्तै २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतासमेत पाएको थियो । २००९ बाट राष्ट्रिय टोलीको कप्तान रहनुभएका पारसले एकवर्ष अघि कप्तान पद त्याग्नु भएको थियो । ३२ वर्षीय पारसले आफ्नो खेलमा ध्यान दिने भन्दै कप्तानी त्याग्नुभएको हो।

फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका सीताराम कट्टेल धुर्मुस, नेपाल क्रिकेट संघ(क्यान) का सदस्य छुम्बी लामालगायतसँग पारसले रंगशालाको अवलोकन गर्नुभएको थियो । रंगशाला अवलोकनका क्रममा धुर्मुसले पारसलाई रंगशालाको प्रगतिबारे बताउनुभएको थियो ।

हाल रंगशालाको जग निर्माण सम्पन्न भई स्टान्ड ए र बीका पिलरहरू उठाउने कार्य भइरहेको छ । पारसले जग उठाउनुका साथै पिलरहरू ठड्याउने कार्य सम्पन्न भएकाले अब रंगशालालाई सुन्दर र आकर्षक बनाउन सबैको सहयोगका लागि अपेक्षा गर्नुभयो ।

‘रंगशालाको जग तयार भइसकेको छ । यहाँसम्म आइपुग्न हरेक नेपालीको यसमा आफ्नै योगदान छ । सबैको सहयोगले रंगशाला आकार दिने दिशामा अग्रसर छ,’ पारसले भन्नुभयो, ‘अब यसलाई आकर्षक बनाएर आगामी दिनमा थप सहयोगको आवश्यकता हुनेछ । त्यसका लागि व्यक्तिगत रूपमा मात्रै नभएर पनि संस्थागत रूपमा सबैले सहयोग गर्नुपर्ने आवश्यक छ ।’

जनस्तरको सहयोगबाट बनिरहेको रंगशालामा बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले समेत सहयोग गर्दै आएको छ । अघिल्लो हप्तामात्रै महानगरले रंगशाला निर्माणका लागि दुई करोड रुपैयाँ फाउण्डेशनलाई हस्तान्तरण गरेको थियो ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले दैनिक तीन सय बढी श्रमिकले काम गरिरहेको भन्दै लक्ष्यअनुसार १८ महिनाभित्र रंगशाला निर्माण गर्ने कार्यमा आफूहरू कटिबद्ध रहेको बताउनुभयो । उहाँले बिहान ६ बजेदेखि राति अबेरसम्म लक्ष्य प्राप्तिका लागि कार्य अघि बढिरहेको बताउनुभयो । आर्थिक तथा स्रोतसाधन अभाव नभए उक्त अवधिमा आफूहरूले रंगशाला निर्माण गरिसक्ने धुर्मुसले बताउनुभयो ।

रंगशालाको पिचका लागि फाउण्डेशनले क्युरेटरका रूपमा श्रीलंकन क्युरेटर बन्दुलासँग सम्झौता गरिसकेको छ । उहाँ अहिले श्रीलंकामै रहेकाले पिचको काम केही दिनमा अघि बढ्ने धुर्मुसले बताउनुभयो । रंगशालाको निर्माण २०७५ साल माघ १६ गतेबाट निर्माण सुरु भएको हो ।