काठमाडौं:= मंसिर २ गतेदेखि खुलामञ्चमा खाना नखुवाउने सहमति भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात् मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।
लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन् बढ्न सक्ने भन्दै यस्तो कदम चालिएको महानगरपालिकाले जनाएको छ । खुला ठाउँमा खाना खुवाउँदा स्वस्थ वातावरण नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई मध्यनजर गर्दै महानगरपालिका र भोजन सेवा गराउँदै आएका संघ–संथाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्न सहमत भएका हुन् ।
निःशुल्क खाना खुवाउनका लागि वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय तहहरूसँग समन्वय गरेर अगाडि बढ्ने सहमति भएको अभियन्ता अन्शु यादवले बताउनुभयो । ‘हामी खुलामञ्चमा खाना खुवाउँदैनौँ, ‘उहाँले भन्नुभयो, ‘होटेल, पार्टी प्यालेसमा खाना खुवाउँछौँ । महानगरपालिकाले खुलामञ्चमा खुवाउन नदिए पनि हाम्रो यो अभियान रोकिँदैन ।’
सहमतिमै भाइटीकाको भोलिपल्टबाट खुलामञ्चको भोजन सेवा पूर्णरूपमा बन्द गर्ने र खुला मञ्चको सट्टा वैकल्पिक स्थान आवश्यक परे त्यस्ता बन्दस्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग एवं समन्वयमा गर्ने उल्लेख छ । ‘भोजन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउँदा सम्बद्ध संघ–संस्थाले तथा अभियन्ताहरूले कामपाको समन्वयमा सल्लाह गरी क्षेत्रगत रूपमा स्थान खोजी गरी सेवा सुचारु गर्ने,’ सहमतिमा भनिएको छ,’ ‘जसले गर्दा भिडभाड कम भई कोभिड–१९ को संक्रमण बढ्न नपाओस् ।’
सम्झौतापत्रमा हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं न्यू ग्रिन सिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिव क्विन नेपाल, १०० ग्रुपलगायतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । काठमाडौं महानगरपालिको तर्फबाट सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, वसन्त आचार्यलगाय अधिकारीले हस्ताक्षर गर्नुभएको छ।
गत चैतदेखि खुलामञ्च, पशुपतिलगायत क्षेत्रमा विभिन्न संघ संस्थाको पहलमा निःशुल्क खाना वितरण हुँदै आएको थियो । हाम्रो टिम नेपाल, हण्ड्रेड ग्रुप, मानवी क्रिएटिभ एसोसिएसनलगायत संस्थाले दैनिक बिहान, दिउँसो र बेलुका गरी तीन पटक निःशुल्क रूपमा खाना खुवाउँदै आएका छन् । केही दिनअगाडि मात्र काठमाडौं महानगरले खुलामञ्चको खाना खुवाउने अभियानमा अवरोध सिर्जना गरेको थियो ।




















