विराटनगर:= विराटनगरमा पछिल्लो १८ घण्टाको अवधिमा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चार जना विभिन्न अस्पताल र एक जना होम आइसोलेसनका रहेका छन् ।सुनसरी इटहरी –१८ का ५५ वर्षिय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज अपरान्ह मुत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो । मृतकलाई यही कात्तिक १७ उपचारका लागि भर्ना गरिएको थियो ।
सोही अस्पतालमा सिरहा विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको आज आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको प्रवन्धक दाहालले बताए ।यसैगरी न्यूरो कोभिड अस्पताल विराटनगरमा सुनसरी इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको आज अपरान्ह मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए ।
विराटनगर–११स्थित म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिए। वराटनगर–८ का ७० वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा बुधवार राति मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणले अहिलेसम्म देशभर १,०५२ जना नागरिकको मृत्यु भएको छ,भने संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९७४ जना रहेको छ। जसमध्ये उपचार सकिएर निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ जना रहेको स्वास्थ्य मन्त्रालयको कार्तिक २० गते बिहिवारको तथ्यांकले देखाउछ।रासस




















