पूर्व सभासद चौधरीको अन्त्येष्टि : नेता तथा कार्यकर्ताद्धारा श्रद्धाञ्जलि अर्पण।

[ अनिल पोखरेल ]

राजविराज(सप्तरी):= पूर्व सभासद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता मानपुर चौधरीको पार्थिव शरीरलाई आफ्नै घरदेखि २ किलोमिटर पूर्वमा पर्ने धनकट्टामा अन्त्येष्टि गरीयो ।  साँझ सात बजेतिर घाटमा ल्याइएको मृतक चौधरीको भौतिक शरीरलाई नेपाल प्रहरी, नेपाली सेनाको सहयोगमा विधिवतरुपले ८ बजेको समयमा दाहसंस्कार गरिएको मृतकका आफन्त सत्य नारायण चौधरीले बताउनु भयो ।

चौधरीको भौतिक शरीरलाई श्रद्धासुमन अर्पण गर्दै पूर्व माननिय तथा पार्टीका सप्तरी इन्चार्ज रामप्रीत पासवानले चौधरीले पार्टीका लागि दिइएका योगदान र त्यागको उच्च कदर गर्नुभएको छ। चौधरीको निधनले पार्टीलाई मात्र नभई सारा समाजलाई नै घाटा भएको नेता पासवानले दुःख व्यक्त गर्दै मृतकको आत्माले शान्ती पाओस् र मृतक परीवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो ।

प्रदेश नम्बर २ का साँसद गोविन्द न्यौपाने, प्रदेश २ का पार्टी सदस्य महेश यादव, कञ्चनरुप नपाका नगरप्रमुख बसन्त कुमार,  लगायत  पार्टीका विभिन्न तह र तप्काका जिम्मेवारी पदाधिकारी तथा सदस्यहरुको बाक्लो सहभागिताले मृतकको सम्झनामा १ मिनेट मौन धारण र चीरशान्तीको कामना गर्नुभयो । धरान घोपा स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार दिउँसो १ः१४ बजेको समयमा चौधरीको निधन भएको थियो । 

१५ दिन अगाडी उहाँ काठमाडौंबाट घर फर्कने बेला पिसिआर टेष्ट गराउदा नेगेटिभ देखिएको भएपनि काठमाडौबाटै सामान्य ज्वरो र रुगा खोकीमा घर आइपुगेको मृतक चौधरीले पुन बिराटनगरमा उपचार गराउदा कोरोना नेगेटिभ नै देखाएको थियो ।

 ज्वरो र दमले चाप्दै गएपछि मंसीर २ गते धरान — घोपा पुग्नुभएको चौधरीलाई त्यहाँ कोरोना पोजिटिभ पुष्टि भएपछि उपचार गरिन्दै आएको थियो । सप्तरीको साविक गाविस जगतपुर वडा नम्बर ५ मा २०१७ सालमा जन्म भएका मृतक चौधरीका अनगिन्ती राजनीतिक र सामाजिक योगदानहरु छन् । 

विहारी चौधरीको एक मात्र छोरा मृतक चौधरी बिधार्थीकालदेखि नै राजनीतिक क्षेत्रमा लागिपरे अग्रजहरु भन्छन्—यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीको दिगो विकास गराउन उहाँको कम योगदान छैन । सप्तरी जिल्ला सचिव हुँदै पार्टीको विभिन्न भातृ संगठनको केन्द्रीय स्तरको जिम्मेवारी बहन गरिसक्नुभएको मृतक चौधरीले देश र जनताका आकांक्षानुरुप २०६६ सालमा पार्टी परिवर्तन गरी तत्काल माओवादी केन्द्रमा प्रवेश गरेका थिए । केन्द्रको पोलिटव्युरो सदस्य मृतक चौधरी २०७० सालको दोश्रो संविधान सभाको चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट भारी मतले विजयी हुनुभएको थियो । विभिन्न बाधा र व्यवधानलाई चीरफार गर्दै नेपालको ऐतिहासिक संविधान निर्माण गर्नेकाममा मृतक नेताको यस क्षेत्रमा एउटा इतिहास सावित भएको छ । पाँच छोरी र एक छोराका धनी मृतक चौधरीले पितृ सम्पति बाहेक आफुले केहि जोड्न सकेन तर पार्टी र समाजलाई भने अवश्य दिइएको उहाँका शुभचिन्तकहरुले व्यक्त गरे ।