साउदी अरबमा कोरोनाका कारण एक नेपालीको मृत्यु।

साउदी अरेबिया := विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ ।

यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । हाल सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।यस्तै नेपालमा मात्र १ लाख ५५ हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७० प्रतिशत हो ।

हिजो शनिवार साँझसम्म नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। हालसम्म विदेशसहित कोरोना भाइरसका कारण १ हजार १ सय २६ नेपालीले ज्यान गुमाएका छन् ।