साउदी अरबसँग नेपालले पहिलोपटक दुईपक्षीय श्रम सम्झौता गर्दै, नेपालीलाई लाभ मिल्ने।

काठमाडौं := नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरबसँग नेपालले पहिलोपटक दुईपक्षीय श्रम सम्झौता गर्ने भएको छ । अन्य मुलुकका कामदारसरह काम, पारिश्रमिक, बीमा तथा सेवा-सुविधा उपलब्ध गराउने उद्देश्यसहित सम्झौताको तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिनुभएको छ ।

प्रवक्ता घिमिरेका अनुसार आउँदो जनवरी २५-२६ मा दुई मुलुकबीच श्रम सम्झौता गर्ने तयारी छ । यसअघि नेपालले पटक–पटक पत्राचार गर्दा पनि साउदी सरकारले दुईपक्षीय श्रम सम्झौताप्रति इच्छा नदेखाएको भए पनि यसपटक भने सकारात्मक प्रतिक्रिया आएको उहाँले बताउनुभयो ।

‘नेपाली कामदारको हकहितलाई केन्द्रमा राखेर साउदी अरबसँग पहिलोपटक दुईपक्षीय श्रम सम्झौता हुन लागेको हो’, प्रवक्ता घिमिरेले सञ्चारकर्मीसंग कुरा गर्दै भन्नुभयो, ‘सम्झौतापछि नेपाली कामदारले साउदी सरकारले तोकेको न्यूनतम पारिश्रमिकका साथै अन्य मुलुकका कामदारसरह सेवा-सुविधा प्राप्त गर्नेछन् ।’ खाडी मुलुकमध्ये साउदी अरब नेपाली कामदारका लागि प्रमुख रोजगारी गन्तव्य रहेकाले यो सम्झौता अत्यन्त महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

नेपालमा सञ्चालित करिब एक हजार म्यानपावर कम्पनीमध्ये अधिकांशले साउदी अरबमा नेपाली कामदार पठाउँदै आएका छन् । तर, साउदी जाने धेरैजसो नेपाली कामदार अन्य मुलुकका कामदारको तुलनामा कम पारिश्रमिक र न्यून सेवा-सुविधामा काम गर्न बाध्य छन् । त्यस्तै, विभिन्न कारणले हाल पनि साउदी अरबका विभिन्न कारागारमा सयौँ नेपाली कामदार रहेका छन् ।

दुई देशबीच आधिकारिक श्रम सम्झौता नहुँदा उनीहरूको रिहाइ प्रक्रियामा समेत समस्या आउने गरेको म्यानपावर व्यवसायीहरूको भनाइ छ । कतिपय अवस्थामा साउदी अरबमा कामका क्रममा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याउन कठिनाइ हुने र रोजगारदाता कम्पनीले आवश्यक क्षतिपूर्तिसमेत उपलब्ध नगराउने अवस्था रहेको उनीहरूको गुनासो छ ।