मलेसियामा संयमित भएर दशैं मनाउन दूतावासको आग्रह/लकडाउन यता १६ हजार नेपाली स्वदेश फर्के।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसिया स्थित नेपाली दूतावासले नजिकिदै गरेको नेपाली हिन्दुधर्मावलम्बीहरुको चाडपर्व बडादशैँ,विजयादशमी,तिहार,छठ तथा नेपाल संम्बतको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेको छ।

आज अक्टोबर २२ तारिख २०२० , बिहिवारको दिन मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले एक शुभकामना विज्ञप्ती जारी गर्दै मलेसिया, ब्रुनाई, फिलिपिन्स र ईण्डोनेशियामा रहेको नेपालीलाई चाडपर्वको उपलक्ष्यमा शुभकामना प्रकट गरेको हो।

शुभकामना सन्देश जारी गर्दै दूतावासले कोरोना भाईरस (कोभिड-१९) को संक्रमणको विषयम परिस्थितिलाई मध्यनजर गर्दै संयमित भई चाडपर्व मनाउन अनुरोध समेत गरेको छ । दशैं तिहार मनाउने विशेष प्रकृया तथा विधि भएपनि ( कोभिड -1९ ) संगै आफू बसोवास गरेको, कार्यरत रहेको मुलुकको संस्कृति, आफू आवद्ध रहेको पेशा तथा व्यवसायलाई पनि मध्यनजर गर्न दूतावासले शुभकामना सन्देश मार्फत आग्रह गरेको छ।

यसैबीच मलेसिया स्थित दूतावासको सहजिकरणमा हालसम्म १६ हजार ७ सय २१ जना नेपाली स्वदेश फर्केका छन् । सो दूतावासको कार्यक्षेत्रमा पर्ने मुलुकहरुबाट कोभिड १९ को कारणले अलपत्र परेका नागरिक सो संख्यामा स्वदेश फिर्ता भएको दूतावासले जनाएको छ । दूतावासले यस अप्ठ्यारो परिस्थितिमा एकअर्कालाई गरेको सहयोग, धैर्यता र संयमताप्रति आभार प्रकट गरेको छ।