एउटा गीतको लागि विष्णु माझीको स्वरलाई २ लाख ।

काठमाडौं:= नेपाली गीतसंगीतकै क्षेत्र की सर्वाधिक महँगो पारिश्रमिक लिने गायिका विष्णु माझीले ‘मायालु तिमी मुटुमा छौं’ बोलको गीतका लागि २ लाख रुपैयाँ पारिश्रमिक लिनु भएको छ। लामो समयसम्म १ लाख रुपैयाँ पारिश्रमिकमा काम गर्दै आउनु भएकी गायिका माझीले यो गीतका लागि २ लाख रुपैयाँ पारिश्रमिक लिनु भएको हो । 

गीतका गायक राजन गुरुङले पछिल्लो समय गायिका माझीले आफ्नो पारिश्रमिक बढाएका कारण आफूहरुले २ लाख पारिश्रमिक तिरेको बताउनुभयो । ‘बजारमा उहाँको अहिलेको पारिश्रमिक २ लाख रहेछ, हामीले सोही मूल्य तिरेर गीत गाउन लगाएका हौं’, गायक गुरुङले भन्नुभयो, ‘बजारको माग र उहाँको स्वरको क्वालिटी अनुसार त्यो पारिश्रमिक हामीलाई मञ्जुर छ।’

बुधबार सार्वजनिक भएको ‘मायालु तिमी मुटुमा छौं’ गीतका संगीतकार वसन्त थापाले यसअघिको उहाँको सर्वाधिक हिट गीत ‘सालको पात टपरी हुनी’मा १ लाख पारिश्रमिक दिएको र अहिले भने दुई लाख तिरेको बताउनु भयो । संगीतकार वसन्त भन्नुहुन्छ, ‘त्यो समयमा उहाँको रेट १ लाख थियो अहिले दोब्बर भएको छ तै पनि उहाँलाई गीतको अफर आइरहेका छन् । सायद बजारमा उहाँको माग भएकै कारण गीत अफर भइरहेका छन्।’ 

यसै गीतका एरेञ्जर आशिष अभिरलले पनि बजारमा विष्णु माझीका गीतको माग भएकै कारण पारिश्रमिक बढेको तर्क राख्नुभयो । ‘अन्य गायिकाले २ लाख माग्यो भने कसले दिने ? जसको गीत चलेका छन् । उसले डिमाण्ड गर्न मिल्छ । आज पनि उहाँलाई २ लाख तिर्न तयार छन् ।’ गायिका माझी अहिलेसम्म सार्वजनिक हुनुभएको छैन । उहाँको इन्टरनेटमा पनि एक तस्वीरभन्दा अन्य कुनै सामग्री उपलब्ध छैन । स्व इच्छाले सार्वजनिक नभएको बताउँदै आउनु भएको छ।

गीतको भिडियोमा गायक राजन गुरुङ, संगीतकार वसन्त थापासँगै रजनी गुरुङ र सुमित्रा तामाङले नृत्य गर्नुभएको छ । सुनिल क्षेत्रीको निर्देशन रहेको यो गीत दुर्गा पौडेलले खिच्नुभएको हो भने नवीन घर्तीमगरले सम्पादन गर्नुभएको छ । गायक राजनले झण्डै चार वर्षअघि ‘उही खोलीमा पानी’बोलको गीत सार्वजनिक गर्नुभएको थियो । जुन नेपाली लोक तथा दोहोरी गीतको इतिहासमै पहिलो पटक युट्युबमा करोड भ्युज पाउने गीत हो।

त्यसपछि ‘सालको पात टपरी हुनि’ बोलको गीत युट्युबमा करोड भ्युज पाउने गीतमा दोस्रो नम्बरमा परेको थियो । तर अहिले नेपाली लोकगीतको इतिहासमा ‘सालको पात टपरी हुनि’ युट्युबमा सर्वाधिक भ्युज पाउने गीतमा परेको छ । यस गीतको युट्युबमा भ्युज ६ करोडमाथि छ।