छोरीलाई डेब्यु गराउँदै अञ्जु

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तकी १९ वर्षीय छोरी परितोसिका पन्तले म्युजिक भिडियोमा डेब्यु गर्नु भएको छ । अञ्जुकै स्वरमा रहेको एक गजल गीतको भिडियोमार्फत परितोसिकाले अभिनयको यात्रा सुरु गर्नुभएको हो । सोमबार राजधानीको एक रिसोर्टमा छायांकन गरिएको उक्त गीतको भिडियोमा परितोसिकासँग कुन्साङ बम्जनको जोडी बाधिएको छ ।

गायिका अञ्जुले छोरीको अभिनय यात्राको सुरुवात आफ्नै गीतबाट गराउन पाउँदा खुशी लागेको बताउनुभयो । यसअघि धेरै चलचित्र तथा म्युजिक भिडियोबाट अफर आए पनि आफ्नै गीतबाट अभिनय सुरु गरेको र अब यसपछिका अफरमा छोरीले काम गर्ने अञ्जुले प्रष्ट पार्नुभयो । अञ्जुले भन्नुभएको छ, ‘यसअघि धेरैले अफर गर्नुभयो तर अब औपचारिक रूपमा छोरीको अभिनय सुरु भएको छ । सुरुमा आफ्नै गीतबाट डेब्यु गराउँ भन्ने चाहना हो । छोरीले अब अभिनय गर्न चाहना राखेकी छिन् ।’

सुरेश वाग्लेको शब्द रहेको उक्त गजल गीतमा अञ्जु आफंैले संगीत भर्नु भएको छ । भिडियो भने निकेश खड्काले निर्देशन गर्नु भएको छ । सुटिङको अनुभव सुनाउँदै परितोसिका भन्नुहुन्छ, ‘क्यामेराको अगाडि बसेर पहिलो पटक अभिनय गर्दा डर लागेको छ तर सबैलाई निकै सहयोगी हुनुहुन्छ । त्यसैले खासै गाह्रो महसुस भएको छैन ।’ यस्तै भिडियोका मोडल कुन्साङले पनि यसअघि केही भिडियोमा काम गरेको भएपछि यस भिडियोको सुटिङमा फरकपन पाएको र भिडियो राम्रो बन्नेमा ढुक्क भएको बताउनुभयो । 

यस्तै अञ्जु पन्तको गीतको भिडियोमा आफूले अभिनय गर्न पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ, ‘अञ्जु पन्तको गीत भन्ने बित्तिकै मलाई भिडियोमा काम गर्ने इच्छा जागेको थियो । त्यसपछि अञ्जु दिदीकै छोरी भनेपछि मलाई परितोसिकाको प्राफाइल चेक गरेको थिएँ । लुक्स पनि राम्रो लाग्यो ।’

अञ्जुले यस गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने जानकारी दिनुभयो । यसअघि हजारौं गीत विभिन्न च्यानलमार्फत आए पनि छोरीको डेब्यु गीतको भिडियो भने आफ्नै अफिसियल युट्युब ‘अञ्जु पन्त’बाटै सार्वजनिक गर्ने बताउनु भएको हो । अञ्जुले आगामी दिनमा पनि आफ्नो य्ुट्युब च्यानललाई अगाडि बढाउने र अहिलेको समयमा कलाकारको आफ्नै युट्युब च्यानल हुनुपर्ने तर्क राख्नुभयो ।