एजेन्सी := रोजगारीको निम्ति अष्ट्रियामा बसोबास गर्दै आईरहेकी एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेको समाचार प्राप्त भएको छ। अष्ट्रियाबाट प्रकाशन हुने स्थानीय अनलाइन पत्रीका “क्रोने अनलाइन” ले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार प्रकाशित छ।
एक उच्च स्रोतको अनुसार हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षिया चन्द्रा भट्टराई अर्याल हुन्। अर्याल दम्पतीमा लामो समयदेखि पारिवारीक समस्या थियो। उनीहरुको परिवार गुल्मीबाट वुटवल सरेको थियो। उनीहरुको बीचको झगडाको बारेमा स्थानीय प्रहरी समेत जानकार थियो। प्रहरीले उनका श्रीमान अर्याललाई १५ किलोमिटरको दुरी भन्दा नजिक आउन नपाउने गरि प्रतिवन्ध लगाएको थियो।
स्रोतको अनुसार केही समय अघिमात्र उनले आफ्नो परिवारभित्र समस्या रहेको भन्दै केही सामाजिक संघसँस्थाका अगुवाहरुसँग सहयोगको लागि याचना गरेकी थिइन्। शनिबार विहान भएको घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले पुष्टि गरेका छन्।
दूतावासका अनुसार प्रहरी निरन्तर दूतावासको सम्पर्कमा रहेर अनुसन्धान अघि बढाएको छ। ति महिलाले दुई छोरी र एक छोराको हत्या चक्कु प्रहार गरेर हत्या गरेपछि आफै आत्महत्याको प्रयास समेत गरेकी थिइन्।
प्रहरीका अनुसार मृतक मध्य ८ महिनाको छोरा र नौं र तीन वर्षिया छोरीहरु रहेको बताएको छ। प्रहरीले अर्याललाई अनुसन्धानको लागि हिरासतमा लिएको छ। उनीको शनिवार साँझ मेन्टलहेल्थ लगायतको स्वास्थ्य परीक्षण गरिएको बुझिएको छ।



















