सरकारी सवारी साधनको दुरुपयोग, घाँस बोक्नेदेखि पार्टीका कार्यकर्ता ओसार्नसमेत प्रयोग

खोटाङ । खोटाङमा सरकारी साधनको व्यापक दुरुपयोग भएको पाइएको छ । सरकारी कामकाज गर्नमा सहज होस् भन्ने उद्देश्यले खरीद गरिएको सरकारी साधनहरु विदाका दिनमा घरायसी प्रयोजन र मोजमस्तीका लागि प्रयोग हुने गरेको पाइएको छ । 

अत्यावश्यक काममा (प्रमुख जिल्ला अधिकारीको अनुमति) लिएर बाहेक सार्वजनिक बिदामा सरकारी साधन प्रयोग गर्न पाइँदैन । तर, पछिल्लो समय जिल्लामा (दुई पाङग्रे) सरकारी साधनको दुरुपयोग व्यापक बढेको छ । स्रोतका अनुसार सार्वजनिक विदामा कतिपयले ससुराली जान÷आउन, श्रीमती छोराछोरी बोक्न÷घुमाउन, प्रेमिका घुमाउन, क्याम्पस जान, सिक्न, बजारमा किनमेल गर्न जान, राजनीतिक पार्टीको कार्यक्रममा नेता बोक्न सरकारी मोटरसाइकल प्रयोग गर्ने गरेको छ । 

शनिबार दिक्तेलबजारमा सरकारी मोटरसाइकलमा घाँस बोकेर लैजादै गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै प्रदेश नं.१ लेखिएको ००८४ नम्बरकोे मोटरसाइकलमा घाँस बोकेर लैजादै गरेको हो । यस्तै, सोही दिन स १ प १४११ नम्बरको मोटरसाइकलमा एक महिला, एक बच्चा बोकेर रत्नपार्क आसपासमा दुरुपयोग भएको पाइएको थियो । यस्तै, शनिबार नै बा २ ब ७४७० नम्बरको मोटरसाइकल पनि दुरुपयोग भएको पाइएको छ । यि त प्रतिनिधिमूलक मात्रै हुन् ।

खासगरी स्थानीय तहको मोटरसाइकल सम्बन्धित ब्यक्ति बाहेक अन्यले पनि प्रयोग गरिरहेको पाइएको छ । त्यसरी साधनको दुरुपयोग भई मर्मत गर्दा भारी मात्रामा मर्मत खर्च लाग्ने गरेको स्रोत बताउँछ । कतीपय अवस्थामा खरीद खर्चभन्दा मर्मत खर्च बढी आउने गरेको छ । राज्यको सम्पत्तीमा मन लाग्दो लापारवाही छ स्रोत भन्छ । 

ट्राफिक प्रहरीले सार्वजनिक विदामा सरकारी साधनको चेकजाँच गरेको पाइन्दैन । ट्राफिक प्रहरीले सरकारी मोटरसाइकल छोडेर नीजि मोटरसाइकललाई मात्रै चेकिङ गर्ने र अनावश्यक झन्झट दिने गरेको मोटरसाइकल चालकहरुको भनाइ छ । सरकारी साधन मात्रै भनेर हुन्छ सम्बन्धित ब्यक्तिले प्रयोग गरेको हो÷हैन, के प्रयोजनका लागि विदामा चलाइएको हो त्यो बुझ्नुपर्दैन । मोटरसाइकल चालक थप्छन् ‘हामीसँग सबै कागजात हुन्छ तर, पनि ट्राफिकले यो भएन, त्यो भएन भन्दै दुःख दिने गरेको छ ।’ 

संघ र प्रदेश अन्तर्गतका सवारी साधनको हकमा प्रशासनबाट पास लिएर चलाउनुपर्ने स्पष्ट नीतिगत व्यवस्था भएकाले त्यही अनुसार विदाका दिन प्रशासनबाट पास लिएर चलिरहेको र पास नलिइकन चलाउनेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनु भयो । स्थानीय सरकारको हकमा स्पष्ट नीतिगत व्यवस्था नभए पनि सार्वजनिक विदाका दिन सरकारी साधन चलाएको भेटिएमा सम्बन्धित कार्यालयको पास भए÷नभएको निगरानी गरेर विदामा सरकारी साधन नचलाउन उत्प्रेरित गरिने प्रअिज पौडेलले बताउनु भयो ।