मुस्ताङी च्याङ्ग्रामा पनि बिचौलियाकै हालीमुहाली

म्याग्दी । कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटोलाई छिचोल्दै मुस्ताङबाट शहर झरेका भेडाच्याङ्गाको मूल्य यस वर्ष आकासिएको छ ।

दशैंका लागि शहर झरेका मुस्ताङी च्याङ्ग्राको सामान्य मूल्य पनि रु ३० हजार कायम गरिएको छ । जसले गर्दा च्याङ्ग्राको मासु खाने रहर भने यस वर्ष धेरैको पुरा नहुने देखिएको छ ।

दशैंका लागि यसबर्ष चिनको तिब्वतबाट भेडाच्याङ्ग्राको खपत रोकिएसँगै भेडाच्याङ्ग्राको मुल्य ह्वात्तै बढेको हो । कोरोना भाइरसको जोखिमसँगै तिब्वतबाट बर्षेनी भित्रिने २० हजारभन्दा धेरै भेडाच्याङ्ग्रा रोकिएपछि मुस्ताङ र डोल्पाबाट आएको च्याङ्ग्राको मुल्य मुस्ताङमै २८ हजारमा खरिद गरेको ब्यापारीको भनाइ छ । नियमित भेडाच्याङ्ग्राको ब्यापार गदैं आएका ठूला ब्यापारी अचाक्ली मुल्यका कारण रित्तै फर्किएका छन् भने केही ब्यापारीले महंगोमा खरीद गरेका छन् । 

कोरोना भाइरसको जोखिम थिचोल्दै उपल्लो मुस्ताङसम्म पुगेका नेपालीले मुस्ताङमै ३६ केजीको च्याङ्ग्रालाई ३० हजार रुपैयाँ घटीमा नपाएपछि लगानी नै डुब्ने जोखिमले रित्तै फर्किएका छन् । ब्यापारीले संख्या घटेपनि नियमित ब्यापारीभन्दा पहिले नै विचौलियाको सक्रियताले गतबर्षभन्दा प्रति च्याङ्ग्रामा ८ हजारसम्म मुल्य बढेको सिन्धुपाल्चोकबाट आएका ब्यापारी अम्मर बहादुर ठकुरीको भनाइ छ । 

अघिल्लो बर्ष यातायात लगायतका खर्च कटाएर काठमाण्डौको कालिमाटीमा बिक्री गर्ने मूल्य यसपटक मुस्ताङमै तिर्नुपरेपछि करिब ६ सय भेडाच्याङ्ग्रा खरिद गर्ने योजना बनाएर मुस्ताङ प्रवेश गरेका ब्यापारी विष्णु सुबेदीले बिचौलियाको चलखेलले किसान र उपभोक्ता मारमा परेको गुनासो गर्नुभयो । 

ठकुरी र सुबेदी मिलेर २ सय वटा हाराहारीमा च्याङ्ग्रा ल्याउनु भएको छ । । कोरोनाको जोखिमसँगै उपभोक्ताले सस्तो मुल्यमा भेडाच्याङ्ग्राको खोजी गर्ने भएपनि नियमित ब्यापारी पुग्नु अगाडी नै नयाँ र केही स्थानीयले खरिद गरी मुल्य बढाएको गुनासो ब्यापारीको छ । 

झण्डै १ हजार भेडाच्याङ्गा खरिद गर्ने तयारीमा रहेका ब्यापारीले १ सय पनि ल्याउन नसकेको बताउँदै काठमाण्डौमा मुस्किलले मुस्ताङका ४ सय च्याङ्ग्रा समेत पु¥याउन मुस्किल रहेको उहाँहरुले बताउनु भयो । 

  मुस्ताङी च्याङ्ग्राको जिउँदो प्रति केजी १ हजार रुपैयाँमा विक्री गर्दा समेत लगानी नउठ्ने ब्यापारीको भनाइ छ । मुस्ताङमा करिब १० हजार र  डोल्पाबाट ४ सयको हाराहारीमा च्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य अन्तिम उपभोक्तासम्म पुग्दा ३८ हजारसम्म विक्री भएको पाइएपनि मुल्य नियन्त्रणमा हस्तक्षेप गर्न सरकारी निकाय असफल भएको छ । 

गतबर्ष मुस्ताङबाट २५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा निर्यात भएकोमा यसबर्ष करिब ४५ प्रतिशतले कमी हुने अनुमान गरिएको छ । 

हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिन्छ। तिब्वत बाहेक उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडाच्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ । माथिल्लो क्षेत्रमा भेडापालाक किसानको आर्कषण बढेपनि चरनक्षेत्र लगायतका समस्याले उत्पादनमा बृद्धि हुन सकेको छैन् ।

 यसैबीच  भेडाच्याङ्ग्राको मुल्या आकाशिएपछि म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका भेडाको खोजीमा ब्यापारी सक्रिय भएका छन् । जिल्लाको धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्रमा रहेका भेडाको चरन क्षेत्रमै विक्री सुरु भएको छ । 

मुस्ताङी च्याङ्ग्रा खरिद गर्ने सामथ्र्य नभएको उपभोक्ताहरुले बताएका छन् । उनीहरुले स्थानीय खसीबोकाबाटै अहिलेको दशैं मनाउने योजना बनाएका छन् ।