चाडपर्व नजिकिएसँगै बढेको भिडभाडले जोखिम बढ्दै

डडेल्धुरा । चाडपर्व नजिकिएसँगै डडेल्धुराको सदरमुकाम बागबजारलगायतका स्थानीय बजार क्षेत्रहरूमा चहल–पहल बढ्न थालेको छ । लामो समयदेखि कोरोना महामारीले गर्दा बन्द रहेका सवारीसाधनका साथै व्यापार, व्यवसाय सबै सञ्चालनमा आएका छन् ।

बाहिरी जिल्ला र भारतबाट सदरमुकाम आउनेहरूको संख्या बढेको छ । यसले बजारमा चहलपहल पहिलेको तुलनामा ह्वात्तै बढेको छ  ।

बजारमा बढेको भिडभाडलाई हेर्दा अवस्था सामान्य भइसकेको जस्तो देखिन्छ । तर,  कोरोना भाइरसको जोखिम कम नभएकाले यस्तो अवस्थामा सबैले सावधानी अपनाउनुपर्ने स्थानीयहरूको  भनाइ छ । लकडाउन खुलेपछि बजार खुकुलो भएको र यसका साथै बजारमा अहिले सबैको लापरबाही पनि बढेको छ । तर स्थानीयले न त माक्स लगाउँछन् न त सामाजिक दुरी कायम गरेको नै देखिन्छ ।

चाडपर्व नजिकिएसँगै विभिन्न कामले सदरमुकाम आउनेको संख्या बढ्न थालेको र  जिल्ला बाहिरबाट चाडपर्वका लागि घर जानेको संख्या बढेको हो । लकडाउनका बेला नभएका काम अहिले हुन थालेकाले बजारमा भिडभाड हुने गरेको सेवाग्राहीको भनाइ रहेको छ ।

सवारीसाधनका यात्रु एवं पैदल यात्रु कसैले पनि मास्क प्रयोग गरेको पाइँदैन । कोरोनाबाट बच्नका लागि भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउनेलगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुने चिकित्सकले सुझाइरहेका छन् । 

नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोनाबाट बच्न विभिन्न सावधानी अपनाउन आग्रह गरिएको छ । तर सर्वसाधारणले भने यस्ता उपायहरू लागू नगर्दा जोखिम बढ्दै गएको डडेल्धुराका व्यापारी राजेन्द्र पनेरुले बताउनुभयो ।