चलचित्र शून्य, म्युजिक भिडियो भरिभराऊ

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीको हल्ला चल्दादेखि नै गत वर्षको चैत महिनाबाट चलचित्र हल ठप्प छन् । चलचित्र छायांकन रोकिए, प्रदर्शन पनि रोकिए । चलचित्र निर्माता तथा निर्देशकहरू कोरोना कहर कहिले सकिएला भन्दै कुरेर बसेको अवस्था छ । तर नेपाली कला क्षेत्रकै म्युजिक भिडियोको विधालाई भने कोरोनाले छोएको देखिँदैन । 

नेपालमा कोरोना देखिएलगत्तै भएको लकडाउनमा पहिलो महिना कुनै पनि छायांकन भएनन् तर लकडाउन खुकुलो हुनासाथ म्युजिक भिडियोहरू धमाधम छायांकन भए र सार्वजनिक हुन थाले । यस वर्षको तीज पर्वमा पनि थुप्रै गीत सार्वजनिक भए । अन्य लोकगीत तथा आधुनिक गीतहरू सार्वजनिक भइरहेका छन् । यस्तै अहिले दशैँ पर्वलाई लक्षित गरी बनाइएका म्युजिक भिडियोहरू सार्वजनिक हुने क्रममा छन् । केही भने सार्वजनिक भइसकेका छन् ।

चलचित्रको काम भइरहँदा चलचित्रमा काम गर्ने कलाकार म्युजिक भिडियोलाई समय दिन पाएका थिएनन् तर अहिले चलचित्रको काम ठप्प हुँदा म्युजिक भिडियोमै लालाहित भएको देखिन्छ । युवास्टार पल शाहलाई छायांकनमा भ्याइनभ्याइ छ । म्युजिक भिडियो क्षेत्रका चर्चित गायक तथा मोडल दुर्गेश थापाले पनि सामाजिक सञ्जालमा दिनहुँ छायांकनका तस्वीर शेयर गरिरहनु भएको छ । नायिका एलिजा गौतम पनि हप्तै पिच्छे छायांकनमा निस्किनु हुन्छ । यस्तै चलचित्रक्षेत्रका स्टारहरूमात्र होइन, टिकटकका स्टारहरू म्युजिक भिडियोमा व्यस्त हुनुहुन्छ । 

टिकटकमा रुचाइएका सुधिर श्रेष्ठका यो अवधिमा आधादर्जन बढी म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । अझै आधा दर्जन बढी म्युजिक भिडियोहरू आउने क्रममा रहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘छायांकन भएर बसेका भिडियो धेरै छन्, आउनेक्रममा छन् । म्युजिक भिडियोका लागि अफर आइरहेका छन्, समय मिलाएर गरिरहेको छु ।’ टिकटकबाटै स्टार भएका ‘टुइन्स गर्ल’ अहिलेका सर्वाधिक महँगा मोडलमा पर्नुहुन्छ । बजारको हल्ला सुन्नेहो भने ‘टुइन्स गर्ल’ले एक म्युजिक भिडियोमा काम गरेको ८० हजारदेखि १ लाख रुपैयाँसम्म पारिश्रमिक लिनुहुन्छ । यस्तै टिकटकमै लोकप्रिय भएको आधारमा अन्य धेरैले म्युजिक भिडियोको क्षेत्रमा आफ्नो करिअर अगाडि बढाइरहेको देखिन्छ ।

यो समयमा चलचित्र शून्य हुँदा चलचित्रमा अभिनय गर्ने कलाकारहरू पनि म्युजिक भिडियोमा होमिनु भएको छ । चलचित्र क्षेत्रमा महानायक राजेश हमालदेखि युवास्टार पल शाहसम्मका कलाकारहरू अहिले धमाधम म्युजिक भिडियो गरिरहनु भएको छ । महानायक हमालले चार दिनको अन्तरमा दुईवटा म्युजिक भिडियोमा काम गरिसक्नु भएको छ । चलचित्र हलमा नआउँदा दर्शकका लागि भन्दै हमालले अब म्युजिक भिडियोमा पनि काम गर्ने बताउनु भएको छ । ‘अहिले यो कोरोना भाइरसको माहामारीका कारण दर्शकहरू हलसम्म जान पाउनु भएको छैन, यो समयमा म्युजिक भिडियोमा काम गर्ने सोच आएको छ ।’ हमालले भन्नुभएको छ, ‘अहिले आएका अफरमा सबै भिडियो गर्ने हो भने त हप्तैपिच्छे आउँछन् तर त्यसमा छानेर गर्ने सोचमा छु ।’

अहिलेको समयमा म्युजिक भिडियो हप्तामै दर्जनौं सार्वजनिक भइरहेका छन् । विशेषगरी स्टार सेलिब्रेटीहरूलाई लिएर निर्माण गरिएका भिडियोहरू भने युट्युबमा ट्रेन्ङिगमा पनि आइरहेका छन् । नाम चलेका गायक तथा गायिका पनि लाखौं खर्च गरेर आफ्नै लगानीमा म्युजिक भिडियो निर्माणमा लागिरहनु भएको छ । नेपाली गीतसंगीतको क्षेत्रकी स्थापित गायिका बिन्दु परियारले पाँच लाख बढी लगानी गरेर ‘टुइन्स गर्ल’ र अभिनेता नाजिर हुसेनलाई लिएर एक म्युजिक भिडियो निर्माण गर्नुभएको छ । गायिका बिन्दुले दुई÷चारवटा गीत चर्चामा आउँदैमा चुपलागेर बस्न नसकिने र दर्शक तथा श्रोताको मनमा बसिरहन निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । ‘पछि स्टेज कार्यक्रममा जाँदा एक कलाकारले कम्तीमा पनि १ घण्टा दर्शकलाई होल्ड गर्नुपर्छ । त्यो समयमा एक गायक तथा गायिकाको प्रसस्त गीत हुनुपर्छ । त्यो भएर गीतसंगीतको संख्या बढाउनु आवश्यक छ’, बिन्दुले हिमालय टाइम्ससँग भन्नुभयो, ‘दर्शक तथा श्रोताको मयाकै लागि लाखौं खर्च गरेर गीत निर्माण गर्नुपर्ने अवस्था आएको छ ।’

अहिलेको समयमा यस वर्ष चलचित्र हलमा दर्शक आउने आकलन गर्न गाह्रो छ । हल खुल्ने सम्भावना भए पनि दर्शक ढुक्क भएर हलसम्म पुग्ने अवस्था नहुँदा कलाकारहरू म्युजिक भिडियोमा होमिनु भएको देखिन्छ ।