सामूहिक बलात्कार गरी फरार भएकामध्ये दुईजना पक्राउ

सिन्धुपाल्चोक । गत असोज १५ गते एक महिलालाई सामूहिक बलात्कार गरी फरार रहेका चार जनामध्ये दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको जुगल गाँउपालिका–४, माञ्जेमा जुगल–३ की ३२ वर्षीया एक महिला जलवीरबाट घर जाँदै गर्दा बोलेरोभित्र लगी चार जनाले बलात्कार गरी फरार भएकामध्ये दुईजना आरोपी विहीबार पक्राउ परेका हुन् ।

दुइ बच्चाकी आमासमेत रहनुभएकी ती महिला बलात्कारपछि अर्थचेत अवस्थामा बोलेरो गाडीभित्र भेटिनुभएको थियो । रातिको समयमा घटना भएकाले पीडितले समेत यकिन रूपमा किटानी गर्न सक्नुभएको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार आरोपीमध्ये दुई जना पक्राउ गरिएको छ भने दुईजना अझै फरार छन् । उनीहरूसँग सोधपुछ भइरहेकाले उनीहरू नै घटनामा संग्लन हुन् कि होइनन् यकिनका साथ  भन्न नसकिने प्रहरीले जनाएको छ । उनीहरूको पहिचान गोप्य राखिएको छ । 

घर जान बाटोमा हिँडिरहेको अवस्थामा महिलालाई मोटरसाइकलमा आएका व्यक्तिले बोलेरो गाडीमा लगेर बलात्कार गरेको पीडितको भनाइ  छ । घटनामा प्रयोग भएको बोलेरो र मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको छ । तिनै सवारी साधनको आधारमा आरोपीको पहिचान गर्न सहज भएको प्रनाउ सापकोटाले बताउनुभयो ।  पीडित महिलाले गरेको पहिचानका आधारमा चार जनामध्ये अहिलेसम्म दुई जना मात्रै पक्राउ परेका छन् । ‘आरोपी दुई जनालाई म्याद थपेर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र सोधपुछ गर्दैछाँै,’ सापकोटाले भन्नुभयो ‘घटनास्थल र बलात्कार भएको क्षेत्रमा अनुसन्धान तीव्र बनाइरहेका छौँ ।’ पीडित महिला सुरक्षित वातावरणमा महिला सेल्टरमा राखेर आवश्यक सुरक्षामा हुनुहुन्छ ।