सैनिक भर्तिमा असफल भएपछि अर्गानिक तरकारी खेतीमा बुकबहादुर गुरुङ

धादिङ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि जारी भएको लकडाउन पछि धादिङका अधिंकांश युवाहरु आधुनिक अर्गानिक तरकारी खेतीतर्फ आकिर्षत भएका छन् । उत्तरी धादिङका नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ का बुक बहादुर गुरुङले आधुनिक अर्गानिक तरकारी खेती गरी उदाहरणीय कामको सुरुवात गर्नुभएको छ ।

गुरुङले स्वदेशमै केही गर्नु पर्छ भन्ने मनसायका साथ ग्रीन जाने कृषि फर्म दर्ता गरेर करिब २२ रोपनी जग्गामा १२ वटा टनेल बनाई व्यवसायिक रुपमा अर्गानिक तरकारी खेती सुरु गर्नु भएको हो । लामो समय देखि भारतीय सैनीकमा भर्तीको लागि प्रयास गरेपनि सफल नभएपछि अहिले भारत र इलामको कृषि फर्मको अनुगमन पश्चात यो व्यवसाय सुरु गरिएको उहाँको भनाइ छ । अन्य पेसा भन्दा यो पेसा गर्न सजिलो हुने भएकाले आफु आधुनिक अर्गानिक तरकारी खेतीमा लागेको र आम्दानी पनि राम्रो हुने बताउनुभयो । रोजगारीको सिलसिलामा युवाहरु विदेश पलाएन हुन्छन् तर नेपालमै प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाका बाटो रहेको गुरुङ बताउनुहुन्छ । स्वदेशमा गरे के हुन्न र भन्ने सन्देश दिन पनि ५ वर्षदेखि तरकारी खेतीमै लागेको गुरुङले बताउनुभयो । २०७२ सालको विनासकारी भुकम्पपछि करिब ५ लाखको लागतमा सुरु गर्नु भएको व्यवसायबाट अहिले वार्षिक रुपमा रु ५ लाख सम्म आम्दानी हुने उहाँले बताउनु भयो ।  १२ वटा टनेलमा अहिले गोलभेडा, कागती, फर्सी, अलैची, सुन्तला र काक्र्रो लगायत विभिन्न तरकारीहरु रहेका छन् ।

अहिले घरबाटै करिब १०० रुपैयाका दरले तरकारहरु विक्री वितरण हुने गरेको छ । उक्त, फर्ममा उत्पादन भएको तरकारी धादिङबेसी, नुवाकोट लगायत अन्य जिल्लाहरुमा लैजाने गरेको उहाँको भनाइ छ । १२ वटा टनेलमा गरिएको तरकारी बालीमा नेपाल सरकार लगायत अन्य संघ सस्थाहरुले कुनै पनि सहयोग नगरेको बताउनु हुँदै गुरुङले कुनै संघ संस्थाको सहयोग पाए अझ जिल्लाको नमुना कृषकको रुपमा परिचित हुने लक्ष्य रहेको बताउनु भयो । कृषि क्षेत्रमा आवद्ध किसानहरुको लागि सरकारले कृषि अनुदान कार्यक्रम ल्याएता पनि वास्तवीक किसानले अनुदान नपाएको बताउनु भएको छ ।  यदि सरकारले आफुलाई सहयोग गरेको खण्डमा यस फर्मलाई ग्रीन हाउसको रुपमा स्थापित गराउने बताउनु भयो । नेपाललाई कृषि प्रदान देश भन्छौ तर तरकारी फलफुलदेखि अन्य खाद्यान्न भारत लगायत विभिन्न देशबाट आयात गर्नुपर्ने अवस्थाप्रति दुःख व्यक्त गर्दै गुरुङ बताउनु हुन्छ ।