विद्युत् विस्तार हुन नसकेको टोलमा सौर्यबत्ती

इलाम । इलामको सूर्योदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार हुन नसकेको टोलमा सौर्यबत्ती जडान गरिदिएको छ । सूर्योदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारका ११ घरमा नगरपालिकाले सौर्यबत्ती जडान गरिदिएको हो ।

स्थानीयको लगानी बिना नै नगरपालिकाले घरमै गएर सौर्यबत्ती जडान गरिदिएको हो । सौर्यबत्ती जडान भएपछि सो बस्ती झिलिमिली भएको छ । नगरप्रमुख रणबहादुर राईको उपस्थितिमा सौर्यबत्ती जडान गरिएको थियो । अन्धकार गाउँ उज्यालोमा परिणत भएपछि त्यहाँका बासिन्दा हर्षित भएका छन् । विद्युतीकरणका लागि निकै अप्ठ्यारो र टाडा भएकोले त्यस ठाउँमा केन्द्रीय प्रशारणको विद्युत् विस्तार हुन सकेको थिएन । विद्युत विस्तार नभएकाले त्यहाँका ११ घरले टुकीको भरमा रात कटाउँदै आएका थिए । विद्यार्थीहरु समेत रातमा तीन पटकसम्म मट्टीतेल लगाएर टुकीकै भरमा आफ्नो समस्या समाधान गर्दै आएका थिए ।

झण्डै खानेभन्जाडदेखि एक घण्टा पैदलमा पुगिने त्यस ठाउँको स्थानीयहरू डोको लिएर ब्याट्री र प्यानल लिन गाडी पुग्ने ठाउँसम्म आएका थिए । नगरपालिकाले केही घरपरिवारहरूलाई सुरक्षित आवास निर्माण गरिदिने नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभएको छ ।