विशाल ग्रुपको पनि लुटधन्दा : म्याद गुज्रिएका जंक फुडहरू उपभोक्ताको घर–घरमा पु-याउँदै

काठमाडौं । गायक पशुपति शर्माको शब्द तथा स्वरमा रहेको गीत ‘लुट्न सके लुट कान्छा नेपालमै हो छुट…’ २०७५ सालमा सार्वजनिक भएको थियो । नेपालको पछिल्लो परिवेशलाई व्यंग्य गर्दै पशुपति शर्माले सार्वजनिक गरेको यस गीतलाई युट्युबबाट हटाउन लगाइयो । 

तर, यही गीतजस्तै यतिबेला एकपछि अर्को गर्दै ठूला उद्योगी घरानाहरूको लुटधन्दाको पर्दाफास भइरहेको छ । हिमालय टाइम्सले पनि लगातार ठूला व्यापारिक घरानाहरूका कतुर्तहरू एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेको छ । पछिल्लो समय ज्योति ग्रुपलगायतका केही ठूला घरानाहरूका काला कर्तुतहरू बाहिरिइरहेका बेला विशाल ग्रुप पनि यही बाटोमा रहेको तथ्य सार्वजनिक भएको छ । आयातित जंक फुडहरूको साम्राज्य कायम गरेको विशाल ग्रुपले म्याद गुज्रेका जंक फुडहरूमा नयाँ म्याद टाँसेर बजारमा बेच्ने गरेको तथ्य उजागर भएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कम्पनीको गोदाममा छापा मारेर म्याद गुज्रिएका जंक फुडहरूमा नयाँ लेबल लगाउन प्रयोग गरिएको मेसिनसहित आठ जनालाई पक्राउ गरेसँगै विशाल ग्रुपको पनि देखाउने दाँत र चपाउने दाँत बाहिर आएको हो ।  

म्याद गुज्रिएका अखाद्य वस्तुमा ‘रिलेबलिङ’ गरेर बजार पठाउने अवैधानिक धन्दा चलाउन विशाल ग्रुपका प्रतिनिधिले भारतीय नागरिक रोनक बोथ्रासँग लिखित सहमति नै गरेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाले गरेको स्ट्रिङ अपरेसनका क्रममा काठमाडौंको कलंकीमा रहेको लिंक मार्ग र वाफलका तीन घरमा बिहीबार छापा मारी आठ जनालाई पक्राउ गरेपछि उनीहरूकै बयानका आधारमा उक्त कुराहरू बाहिर आएका हुन् । यसबाट ठूला घरानाहरूले व्यापारका नाममा फाइदा मात्र लिने र उपभोक्तालाई पैसा छाप्ने मेसिनको रूपमा मात्र लिएको देखिन्छ । 

ठूला–ठूला नाम कहलिएका यस्ता उद्योगीहरू नै थोरै पैसाको लोभमा परेर जनता लुट्नमा केन्द्रित बन्दा राम्रा प्रोडक्ट बजारमा ल्याएका कम्पनीहरू समेत मारमा पर्ने भएका छन् । चाडबाडको मौका छोपी राम्रा–राम्रा स्किम देखाउँदै यस्ता कम्पनीले लुटको साम्राज्य कतिसम्म विस्तार गरेका छन् भन्नेसमेत प्रस्ट भएको छ । 

प्रहरीले आयान डिष्ट्रिब्युटर वाफलको दुई घर र अमेजन डिष्ट्रिब्युटरको एउटा घर सिलबन्दी गरेको छ भने तीन गाडी सामान पनि बरामद गरेको छ । प्रहरीले भारतीय नागरिक रोनक बोथ्रालाई पक्राउ पनि गरेको छ । पक्राउ परेका बोथ्राले विशाल ग्रुपका प्रतिनिधि पुष्पादेवी अग्रवालले सञ्चालन गरेको आयान डिस्ट्रिब्युटर प्रालिसँग लिखित सम्झौता गरी म्याद सकिएका सामानमा नयाँ म्यादसहितको स्टिकर प्रिन्ट गर्ने गरेको वाणिज्य विभाग उच्च स्रोतले जनाएको छ । हामीले घटनाबारे विशाल ग्रुपका संचालक अनुज अग्रवालसँग कुरा गर्न खोजेका थियौं, तर उहाँको फोन लगातार स्वीच अफ भएकाले कुरा गर्न सकेनौँे । त्यसपछि हामीले ग्रुपका अन्य सञ्चालकसँग पनि फोनमा कुरा गर्न खोज्दा सबैको फोन अफ पाइयो । यसको अर्थ यस बिषयमा कुनै पनि सञ्चालकले प्रतिक्रिया दिन नचाहेको प्रस्ट देखिन्छ । 

अपराध महाशाखाका अनुसार आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामाग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको खुलेको छ । स्नेकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिंगल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको पाइएको छ ।

‘आयान डिस्ट्रिब्युटरका सञ्चालकले भारतीय नागरिकसँग यो कामका लागि लिखित सम्झौता गरेको देखियो । कुनै कानूनी समस्या परे पनि आफूले बेहोर्ने र सबै अवैधानिक कामको जिम्मा रोनक बोथ्राले लिनेगरी सम्झौता भएको भनेर बयान दिएका छन् । ‘पक्राउ परेका केही व्यक्ति गाडी चालक र कामदार छन् । पुनः नयाँ म्याद टाँस्ने तयारी गरिएका वस्तुहरूको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको विभागले जनाएको छ । यस्तै बजारमा गएको सामान हेर्ने हो भने कुल चार करोड रुपैयाँ बराबरको सामान हुन सक्ने आँकलन विभागले गरेको छ । उक्त सामान पनि बिक्रीमा रोक लगाउँदै विभागले बजारबाट उठाउन सुरु गरेको छ ।

अपराध महाशाखाले विशाल ग्रुप र उसको संस्था युनाइटेड डिष्ट्रिब्युटरलाई अनुसन्धानको दायरामा ल्याउने तयारी थालेको छ । जुन कुराको जानकारी पाएपछि विशाल ग्रुपले महाशाखामा चलखेल बढाएको स्रोतको भनाइ छ । 

यो धन्दामा संलग्न सबै व्यक्तिहरू पक्राउ पर्न बाँकी र पक्राउ परेकाहरूको पनि विस्तृत बयान हुन बाँकी छ । यद्यपि यी दुवै कम्पनीको सीधा सम्बन्ध विशाल ग्रुपसँग भएकोबारे अनुसन्धान टोली लगभग निष्कर्षमा पुगिसकेको स्रोत बताउँछ ।

विशाल ग्रुपका उपाध्यक्ष तुलसी अग्रवाल एनआईसी एसिया बैंकका समेत अध्यक्ष हुन् । रेनोल्ड गाडी पनि यही ग्रुपको हो । विशाल ग्रुपका प्रवन्ध निर्देशक अशोककुमार अग्रवाल र एनआईसीका सञ्चालक रामचन्द्र संघाई केही समयअघि जुवा केसमा पक्राउ परेका थिए ।

आफूलाई उच्च घराना भन्ने भिआईपी ‘ठग’हरूले उपभोक्तालाई ठगिरेहका छन् । केही ठूला उद्योगी घराना भन्नेहरूले अनेक बहानामा सर्वसाधारण उपभोक्ताको रकम ठग्ने गरेका पाइएको छ । केहीले भ्रमपूर्ण विज्ञापन त केहीले कमसल सामान तथा कहिले गुणस्तरहीन सामान बिक्री गरेर उपभोक्तालाई दोहन गर्ने गरेका छन् । त्यस्तै विभिन्न उच्च राजनीतिक पहुँचका कारण सेटिङ मिलाएर यिनीहरूले कर छली समेत गर्दै आएका छन् । यसको पछिल्लो उदाहरण ज्योति ग्रुप पनि रहेको छ । 

गुणस्तरहीन सामग्री उत्पादन गर्ने, कार्टेलिङ् गर्ने र जथाभावी आफूलाई फाइदा हुने हिसाब राखेर ठूलो मात्रामा राजस्व छली गरी राज्यलाई लुट्ने नियतबाट केही घरानाले आफ्ना गतिविधि बढाइरहेका छन् र उनीहरूले लुटको साम्राज्य चलाइरहेका छन् । यस्ता ठगी धन्दाबाट अकुत सम्पति कुम्ल्याउनेहरूलाई हामीले एकपछि अर्को सार्वजनिक गर्दै जाने छाँ । यस्ता ठग घरनाबाट सर्वसाधारण उपभोक्ता पनि अब सचेत हुने बेला आएको छ ।