यो बर्षको दसैं ‘जहाँ छौं, त्यहीँ बसेर मनाऔं’ कोरोनाबाट आफुपनि बचौँ र अरुलाई नि बचाऔं।

काठमाडौं := सरकारले यो वर्षको दसैं जहाँ छौँ, त्यही बसेर मनाउन अपील गरेको छ। दसैं अर्को वर्ष पनि आउँने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार यस्तो अपील गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सबैलाई यस्तो अपील गरेका हुन्।

प्रवक्ता गौतमले यो वर्षको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए। अर्को वर्षपनि दसैं आउने भन्दै उनले पछिल्लो समय संक्रमणको दर बढ्दै गएको भन्दै प्रवक्ता गौतमले चाडपर्वका नाममा हिँडडुल नगर्न सबैलाई अनुरोध गरेका हुन्। ‘दसैं अर्को साल पनि आउँछ। यस पटक जहाँ छौँ त्यही बसेर दसैं मनाऔँ’, मन्त्रालयका प्रवक्ता गौतमले भने, ‘जहाँ बसेका छौँ त्यही दसैं मनाउन समन्वय गर्ने र सन्देश प्रवाह गरौँ।’

दसैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वको अवसरमा उपत्यकाबाट लाखौँ मानिस गाउँगाउँ पुग्ने गर्छन्। सहरबाट गाउँमा पुग्दा कोरोना गाउँगाउँमा फैलिने भन्दै सरकारले अहिले अत्यावश्यकबाहेक काममा हिँडडुल नगर्न आग्रह गर्दै आएको छ । आइतबार मात्र काठमाडौं उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै संक्रमण घना बस्ती भएको उपत्यकामा देखिएपछि सरकारले उपत्यका नआउन र उपत्यकाबाट बाहिर नजान सबैलाई अनुरोध गर्दै आएको छ।