धार्मिक, आर्थिक र पर्यटकीय महत्वले आकर्षक गन्तव्य गलेश्वर सुनसान

म्याग्दी । म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धामको धार्मिक, आर्थिक र पर्यटकीय महत्व बढ्दै जान थालेपछि देश र विदेशका व्यक्तिहरुका लागि समेत यो तीर्थस्थल आकर्षक गन्तव्य स्थलको बन्दै थियो । तर कोरोना कहरका कारण अहिले यो तीर्थस्थल सुनसान छ ।  

म्याग्दीको सदरमुकाम वेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धामको इतिहास स्कन्द पुराणमा समेत उल्लेख छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही गाउँ र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेश द्धारको रुपमा समेत परिचित छ ।

वावु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई शिव भगवानले काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ । १९ औं शताव्दीको अन्त्यतिर गलेश्वर वावा नाम गरेका एक जना साधुले सानो कुटी र  सानो कच्ची मन्दिर बनाइ त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिदै जान थालेको जानकारहरुले बताएका छन् ।

त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिक स्थल भएको इतिहासकारहरुले बताएका छन् । १९ औं वीसौ शताव्दीको सुरुवातताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रहरुको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीहरुको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश वानियाँद्धारा लिखित विभिन्न लेखहरुमा चर्चा गरिएको छ । यो क्रम वेनी जोमसोम सडक विस्तार नहोउन्जेलसम्म जारी रहेको थियो ।

 जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने  र ठूलो वर्षामा पनि पानीको सतह घटवढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको वराहा पोखरी , जडभरत गुफा , ९ रोपनी क्षेत्रफलको विशाल चट्टानमा जग विना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड , एकसय ८ शिवलिङ्ग, साँढेका विशाल मुर्तिहरु घण्टा यहाँका मुख्य आकर्षण हुन् । पूर्व पट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ वेनी वजार , उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना वोकेको क्षेत्र हुँदा हुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाहरुको रहेको छ । 

यहाँ रहेको ढुङगाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकहरुका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नवढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीय तथा त्यहाँ पुग्ने भक्तजनहरुको माग रहेको छ ।

विगतका वर्षहरुमा भक्तजन तथा आन्तरिक र वाह्य पर्यटकहरुले खचाखच  हुने गलेश्वर धाम विगत ६ महिना यता सुनसान बनेको स्थानीयले बताएका छन् ।

गलेश्वरधाममा करोडौंका पूर्वाधार

 ९ रोपनी क्षेत्रफलमा फैलिएको  एउटै विशाल चक्राकार शीला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग रहेकोे प्रशिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौंका पूर्वाधारहरु निर्माण भएपछि तीर्थयात्री तथा वाह्य पर्यटकहरुसमेत आकर्षित भएका छन् ।

 कालीगण्डकी नदीदेखि नै  सुरु भएको चक्राकार शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढेको भेटी र दाताहरुको सहयोगबाट ९ करोड रुपैयाँका विभिन्न पूर्वाधारहरु निर्माण भएका छन् । 

मन्दिरमा चढेको भेटी र दाताहरुको सहयोगबाट धर्मशाला, बगैंचा, अतिथी आवास, संस्कृत पाठशाला, हवनकुण्ड लगायतका संरचनाहरु निर्माण भएपछि गलेश्वर सवैको आकर्षणको केन्द्र बन्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुदबहादुर केसीले बताउनु भयो ।

गलेश्वरमा विश्वमा कतै पनि नभेटिएको स्वयं प्रकट शिवलिङ्ग, चक्रशीलाको परिधिमा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान शिवका चरण चित्र, त्रिशुल, शंख, नाग, देवदेवीका मूर्ति आदि रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ आचार्यले बताउनु भयो ।

२०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नो निजी २० लाख रुपैयाँको लागतमा  हालको मन्दिर निर्माण गरेपछि गलेश्वरधामको विकासको शिलान्यास सुरु भएको हो । यस क्षेत्र अन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धामले स्वदेशी तीर्थयात्रीहरुको मात्रै होइन विदेशी पर्यटकहरुको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौं विदेशी पर्यटकहरु आउने गरेका गलेश्वर शिवालय क्षेत्रविकास कोषले जनाएको छ ।