म्याग्दी । वषौंदेखि बाझिँएर रहेका जमिनमा खेती गर्ने कृषकलाई म्याग्दीमा नगद अनुदान दिइने भएको छ ।
बाँझिएको जमिनको सदुपयोग गरी उत्पादन वृद्धि गर्ने उद्धेश्यले म्याग्दीका स्थानीय तह र कृषि ज्ञान केन्द्र म्याग्दीले नगद अनुदान दिने भएका हुन् ।
कृषि ज्ञान केन्द्रले कृषि उत्पादकत्व बृद्धि गर्न र गाँउघरमै रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा सदुपयोग गरी खेती गर्ने म्याग्दी र मुस्ताङका कृषकलाई रु २४ लाख बजेट विनियोजन गरेको हो ।
दुवै जिल्लामा बाँझो जग्गामा ब्यवसायीक खेती प्रोत्साहन कार्यक्रम अन्तरगत तीनबर्षसम्म लगातार बाँझो राखिएको जग्गामा खेती गर्ने कृषकलाई प्रतिहेक्टर रु ३ हजारका दरले अनुदान दिइने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनु भयो । उहाँका अनुसार स्थलगत अनुगमनपछि मात्र अनुदान प्रदान गरिने छ ।
‘बाँझो जग्गाको सदुपयोगका लागि थुप्रै कार्यक्रम छन्,जमिनको सदुपयोग गर्नेलाई अनुदानको कमी छैन, पाण्डेले भन्नुभयो ।
उहाँका अनुसार मुस्ताङको तुलनामा म्याग्दीमा धेरै जमिन बाँझो रहेकाले अनुदानसँगै अन्य कार्यक्रमबाट समेत जमिनको सदुपयोग गर्न सकिने देखिएको छ ।
केन्द्रमा अनुदानै अनुदानको कार्यक्रम छ,जमिन बाँझो रहेकालाई सम्पर्क गर्न अनुरोध गछौं पाण्डेले जानकारी दिनुभयो । ।
उहाँले बाँझो जग्गाको सदुपयोग गर्ने समुहिक टोलीलाई तरकारी, प्राङ्गारिक मल, फलफुल लगायतका अन्य अनुदानसँग समेत जोड्न सकिने जानकारी दिनुभयो ।
एउटै किसानलाई धेरै अनुदानका कार्यक्रम भन्दा पहिलोपटक अनुदानमार्फत कृषि खेतीमा सक्रिय हुनेलाई प्रोत्साहन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कोरोनाको जोखिमसँगै घर फर्किएका यूवाहरु धमाधम कृषि कर्मतर्फ लागेकाले अनुदान बजेटभन्दा धेरै माग आउने अवस्था रहेको केन्द्रका कर्मचारीको भनाइ छ ।
जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने भएकाले खाद्यान्न बाली र तरकारी बाली अन्तर्गतका अनुदान समेत दिन सकिने जनाएको छ ।
चालु आव २०७७/०७८ को बार्षिक स्वीकृति कार्यक्रमको सार्वजनिकण कार्यक्रममा खुल्ला जमिनमा तरकारी खेती गर्ने कृषकले प्रति रोपनी ३ हजार र प्लाष्टिकको घरभित्र गर्ने कृषकले प्रति १ सय बर्गकिलोमिटरले ३ हजार प्रोत्साहन नगद प्राप्त गर्ने जनाइएको छ । केन्द्रमार्फत बार्षिक करिब ११ करोड बजेटमा म्याग्दी र मुस्ताङ जिल्लामा किसानकै हातमा पुग्ने करिब ९ करोड बजेट रहेको छ ।




















