पल र साम्राज्ञीलाई लिएर रेड वाइन बन्ने

काठमाडौं । नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘रेड वाइन’मा काम गर्ने फाइनल भएको छ । यसै फिल्ममार्फत पहिलोपटक पल र साम्राज्ञी जोडीको रूपमा देखिँदै हुनुहुन्छ । 

‘रेड वाइन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको हो । पौडेलले यसअगाडि ‘रुद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गर्नुभएको थियो । निर्देशनमा भने पौडेलेको डेब्यु फिल्म हो । अमेरिकामै सम्पूर्ण छायांकन हुने बताइएको फिल्म प्रेमकथामा निर्माण हुन लागेको हो । फिल्ममा कथा, गीतसमेत निर्देशक पौडेलकै छ ।

फिल्ममा पल र साम्राज्ञीसँगै सन्दीप क्षेत्री र अमेरिकामा बसोबास गर्ने इमिली लामालगायतको मुख्य भूमिका छ । पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सहनिर्मातामा निरू भण्डारी हुनुहन्छ । 

आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको व्यानरमा निर्माण हुने फिल्मको पटकथा र संवाद सवीर श्रेष्ठले लेख्नुभएको हो । दशैँ र तिहारको बीचमा फिल्मको पूरै छायांकन अमेरिकामा हुने बताइएको छ ।