‘हिरो’ को जनता झुक्याउने विज्ञापन ‘दशैँको पर्व हिरोत्सवको हर्ष’, खोइ ‘सबै’मा जिरो डाउनपेमेन्ट ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्रासले बन्द रहेको नेपाली बजार केही खुकुलो भएको छ । नेपालीका मुख्य चाडपर्व मुखमै आइसकेका छन् । दशैँ तिहारका लागि विभिन्न व्यावसायिक घरानाहरूले आफ्ना सामग्रीका विज्ञापन सार्वजनिक गर्न थालेका छन् । यस्ता सार्वजनिक विज्ञापन के साच्चिकै उपभोक्तालाई राहत मिल्ने खालका छन् त ? अब प्रश्नचिहृन लाग्ने भएको छ । यसको कारण हो ज्योति ग्रुपको नेपाल जनरल मार्केटिङ प्रा.लि.(NGM) कम्पनी । जसको ‘दशैँको पर्व हिरोत्सवको हर्ष’ नाम राखेर आकर्षक अफरसहित छापिएको एक विज्ञापनमा जनताको आँखामा छारो हाल्ने काम भएको पाइएको छ । आकर्षक फोटो राखेर हेर्दा ठूलै अफर जस्तो गरेर विज्ञापन छाप्ने तर घुमीफिरी त्यो अफरको रकमसमेत जनताबाटै असुल्ने काम भएको पाइएको हो । 

अहिले विश्वका कुनै पनि प्रोडक्ट बेच्न अफर र विज्ञापनको ठूलो भूमिका रहेको हुन्छ । जसले विज्ञापन गर्दैनन्, त्यसको प्रोडक्ट जतिसुकै राम्रो किन नहोस्, सर्वसाधाणको आँखामा पर्न सक्दैन । त्यसैको फाइदा ठूला कम्पनीहरूले उठाइरहेका छन् । जसको पछिल्लो उदाहरण एनजिएमको हिरो कम्पनीको विज्ञापनमा देखिएको छ । 

हिरोको विज्ञापनमा भनिएको छ, ‘हिरोका सबै स्कुटर र मोटरसाइकल जिरो प्रतिशत डाउनपेमेन्टमा उपलब्ध छ । यस सजिलै हिरो योजना कम्पनीले तोकिएका सोरुमहरूमा मात्र लागू गरिएको छ ।’ विज्ञापनमा राखिएको यो शब्द एकदम ठीक छ । तर, विज्ञापनमा कम्पनीले दाबी गरेअनुसार र विज्ञापनमा राखिएका सबै मोटरसाइकलमा यो अफर लागू गरिएको छैन । हाम्रो आपत्ति पनि ‘सबै’ शब्दमा हो । 

विज्ञापनको अफरको विषयमा जानकारी लिन हिमालय टाइम्सले एनजिएमको कर्पोरेट कार्यालयमा सम्पर्क गर्दा त्यहाँबाट विज्ञापनको प्रक्रियासहित नजिकको सोरुममा सम्पर्क गनुु भन्दै काठमाडौं मित्रपार्कमा रहेको एक सोरुमको नम्बर दिइयो । हामीले मित्रपार्कको उक्त सोरुममा सम्पर्क गर्दा सोरुमका कर्मचारी सम्राट् तुलाधरले सबैमा यो अफर नरहेको प्रस्ट पार्नुभयो । उहाँ भन्नुहुन्छ, ‘हिरोका मोटरसाइकल र स्कुटरमा अफर त छ, तर सबैमा जिरो डाउनपेमेन्टमा भने अफर छैन ।’ 

हामीले उहाँलाई विज्ञापनमा छापिएको फोटोको विषयमा जानकारी लिन खोज्यौं तर उहाँ भन्नुहुन्छ, ‘यो त कम्पनीबाटै आएको हो ।’ त्यसको जवाफ उहाँसँग नै थिएन । हामीले हिरोको एक्स पल्स मोटरसाइकलको विषयमा सोधेका थियौँ, जुन पत्रिका र कम्पनीको वेबसाइडमा समेत ठूलो फोटोका साथ छापिएको छ । जसमा जिरो डाउनपेमेन्टको त टाढाकै कुरा सुरुमै ५० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्नेछ । तीन लाख ८८ हजारको मोटरसाइकलमा कम्पनीको तर्फबाट फूल इन्सुरेन्स, जिपिएस ट्याकर र सर्भिस एमाउण्ट दुई प्रतिशत रहेको छ । हामीले फेरि विज्ञापनमा त जिरो डाउनपेमेन्ट छ नि भन्दा, ‘शर्तहरू अनुसार’ राखिएको छ नि भन्ने जवाफ आयो । जुन विज्ञापनको तल सानो अक्षरमा उल्लेख गरिएको छ । जहाँ उपभोक्ताको आँखासमेत पर्दैन । यसबाट पनि उपभोक्ता झुक्याउने काम भइरहेको छ । 

उपभोक्तालाई उल्लु बनाइएको मात्र छैन यो त सिधै ठग्ने नियतबाट आएको प्रस्ट हुन्छ । नियतवश गरिने यस्ता विज्ञापनमा रोक लगाइनु त पर्छ नै साथै सजायको भागिदार बनाइनु पनि जरुरी छ । ताकि भोलिका दिनमा फेरि यस्तो घटना नदोहोरियोस् र उपभोक्ता नठगिऊन् । यस्ता खालका जनतालाई झुक्याउने कुनै पनि विज्ञापन निकाल्नेलाई कडाभन्दा कडा सजाय र दण्ड दिनु कानुनी राज्यको दायित्व हो । 

नेपालको यो मात्र होइन यस्ता अन्य प्रोडक्टहरू पनि छन्, जसले ठूला–ठूला विज्ञापन गरेर जनता झुक्याइरहेका छन् । केही त अहिले कारबाहीमा समेत परेका छन् । यिनै कम्पनीहरूबाट राजस्व बढी आउने हुँदा सम्बन्धित निकाय पनि तैँ चुप मै चुप देखिने गरेका छन् । तर, जब कुरा बाहिर आउँछ, तब मात्र कारबाही हुने गरेका उदाहरणहरू छन् । 

जगदम्बा स्टिल पनि विज्ञापनमा अगाडि, सामान गुणस्तरहीन

‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको जगदम्बा स्टिलका डण्डीले पनि ठूला–ठूला विज्ञापन गरेर गुणस्तरहीन सामाग्री बेचेको प्रमाणित भइसकेको छ । उक्त कम्पनीका प्रोडक्ट पनि गुणस्तरहीन भेटिएपछि सरकारले अहिले उत्पादनमा नै रोक लगाएको छ । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिलले गुणस्तरहीन फलामे डण्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको हो ।

यो तिनै मालिकको कम्पनी हो जसले कोरोना कहरमा ज्वरो नाप्ने थर्मलगनको कालोबजारी गरेका थिए । हो उनै शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालको कम्पनी जगदम्बाले गुणस्तरीय भन्दै उपभोत्तालाई गुणस्तरहीन डण्डी बेच्दै आएको रहेछ । ‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टिलका मालिक सुलभ राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित देखिए । उनका कम्पनीका उत्पादन पनि गुणस्तरहीन प्रमाणित भएका छन् । 

उपभोक्तालाई विभिन्न झुटो नारा र आश्वासन दिएर ठगी गर्दै आइरहेको शंकर ग्रुपको लुटधन्दा यतिबेला पर्दाफास भइरहेको छ । हामीले पनि गत भदौ २९ गते ‘कबाडी छड ‘देशको मेरुदण्ड’ ?’ शीर्षकमा समाचार प्रकाशित गरेका थियौँ । सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी गर्दै आइरहेको यो ग्रुपको लुटधन्दा पर्दाफास हुने क्रम जारी छ ।

पटक–पटक गैरकानुनी क्रियाकलापमा संलग्न रहँदै आएको शंकर ग्रुप यसअघि पनि भ्याट छली, कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन गर्ने, डेडिकेटेड फिडरलाइनलगायत प्रकरणमा जोडिएको थियो । देशका विभिन्न कानुनका छिद्र प्रयोग गर्दै अनियमितता गर्दै आएको गु्रपले यसअघि २०६८ सालमा भ्याट छली गरेर आफ्नो सिआइपी सम्मानसमेत गुमाएको थियो । कालोबजारीमा संलग्न भई पक्राउ भएलगत्तै सुलभ अग्रवालले किर्गिस्तानका लागि नेपालको अवैतानिक महावाणिज्यदूतको पदसमेत गुमाएका छन् ।

यस्तो छ ऐनमा

आपूर्ति मन्त्रालयले जारी गरेको उपभोक्ता हितसम्बन्धी जानकारी पुस्तकको (दफा १० घ) मा कुनै उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपयोगिता वा प्रभावकारिताको सम्बन्धमा झुट्टा वा भ्रमपूर्ण प्रचारप्रसार वा विज्ञापन गर्ने किसिमले अनुचित व्यापारिक क्रियाकलाप गरेमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म वा दुवै सजायको व्यवस्था गरिएको छ । 

विदेशमा पनि छन् यस्ता घटना

अमेरिकी एक प्रतिष्ठित चुरोट कम्पनीले चुरोटको बट्टामा राखिनुपर्ने ‘धूमपान गर्नु स्वास्थ्यको लागि हानिकारक छ’ भन्ने शब्द छुटाउँदा करोडौं डलर क्षतिपूर्ति तिरेको घटना छ । जसमा एक व्यक्तिले सो चुरोट खाँदा आफूलाई क्यान्सर भएको र उक्त कम्पनीको प्रोडक्डमा उक्त कुरा उल्लेख नगरिएकै कारण आफूले धेरै खाएको दाबी गर्दै मुद्दा हाल्नुभएको थियो । जसमा उहाँले उक्त मुद्दासमेत जित्नुभयो । पछि कम्पनीले क्षतिपूर्ति पनि ति¥यो र चुरोटको बट्टामा उक्त शब्द पनि उल्लेख ग¥यो । 

यस्तै, अमेरिकाकै एक प्रतिष्ठित म्याक्डोनल्स कफी सपमा गिलासमा ‘क्याल्कुलेसन हट’ शब्द उल्लेख नगर्दा उसले पनि भारी रकम क्षतिपूर्ति तिर्नु परेको थियो । जसमा एक महिलाले उक्त कफी सपमा कफी पिउँदा तातोले आफ्नो मुख पोलेको भनी मुद्दा हाल्नुभएको थियो । उहाँले उक्त मुद्दा जितेपछि कम्पनीबाट उत्पादित हुने यस्तो गिलासहरूमा अहिले यस्ता शब्दहरू राख्ने गरेको पाइन्छ । यी त केही उदाहरण मात्र हुन् । यस्ता उदाहरण विश्वमा थुप्रै छन्, केही कारबाहीमा परेका छन् भने केही पैसाको भरमा छुट्दै आएका छन् ।