नेपाली नागरिक भोकभोकै बस्नुपर्दैन सरकारले सहयोग गर्छ:प्रधानमन्त्री ओली।

रासस := प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । अर्थ मन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आज निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड –१९ बारेको सूचना प्रवाहले भयावह तस्वीर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताए ।

उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागि परेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक स’मस्या राख्नसमेत आह्वान गरे । प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असूलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे । काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति स्पष्ट पार्दै उनले भने, “भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आ’कर्षण छैन, युवाहरूलाई यो अवस्था बुझेर देश भित्र क्रियाशील हुन पनि आह्वान गर्दछु ।

छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैटौँ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन।” छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए । त्यस क्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बो धनका बारेमा स्पष्ट गरेका थिए ।