मलेसियाबाट बिदामा घर फर्केकाहरु अहिलेनै मलेसिया प्रवेश गर्न नपाउने।

क्वालालम्पुर (मलेसिया):= के तपाईँ मलेसियाबाट बिदामा नेपाल फर्किनु भएको छ ? र अब पुनः मलेसिया रोजगारीमा काममा फर्कन पाइन्छ भन्ने पर्खाइमा हुनुहुन्छ ? यदि हो भने अहिले नै तपाईं मलेसिया प्रवेश गर्न पाउनु हुन्न।

किनभने मलेसिया सरकारले विशेष व्यक्तिहरु बाहेक नेपाल संगै अन्य देशको श्रमिकलाई अझै पनि मलेसिया प्रवेशमा रोक लगाएको मलेसिया स्थित नेपाली दूतावास स्रोतले बताएको छ।

उता नेपाल सरकारले मलेसियाबाट बिदामा स्वदेश फर्केका नेपाली श्रमिकलाई फेरि वैदेशिक रोजगारीमा जानका लागि गएको असारदेखि नै पुनः श्रम स्वीकृति दिन थालेको हो ।

कोरोना भाइरसको बढ्दो जोखिमका कारण मलेसियाले विदेशी पर्यटकलाई पनि सन् २०२० भरी नै रोक लगाउने निर्णय गरिसकेको छ भने , पुनः केहिदिन अगाडि मात्रै गरेको निर्णय अनुसार सोमबार सेप्टेम्बर ७ तारिखदेखी १ लाख ५० हजार भन्दा बढी कोरोना संक्रमित भएको देशको नागरिकहरुलाई मलेसिया प्रवेश गर्न रोक लगाउने घोषणा गरिसकेको छ।

मलेसिया सरकारको बिवरण अनुसार प्रवेश प्रतिबन्धको सूचीमा संयुक्त राज्य अमेरिका, ब्राजिल, फ्रान्स, युनाइटेड किंगडम, स्पेन, इटली, सउदी अरेबिया, रसिया र बंगलादेशका साथै भारत, इन्डोनेसिया र फिलिपिन्स जस्ता तीन देशको नागरिकहरुलाई पनि प्रतिबन्ध लगाइएको र नियम ७ तारिखदेखी लागु हुने बताइएको छ।

अहिले मलेसियाबाट नियमित उडान भैइरहेको भए तापनि, मलेसियाबाट स्वदेश फर्कन पाइन्छ। तर जाने भने मलेसियाले कहिलेदेखि खुलाउँछ भनेर यकिन नभएको , कुनै आधिकारिक निर्णय भएर सुचना प्राप्त नभएकोले अन्यौलतानै रहेको दूतावासले जनाएको छ।