म्याग्दी । ‘त्यो रातलाई सम्झिँदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो नि जस्तो लाग्छ’ गत असार २५ गते राति पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा आएको पहिरोमा चार सन्तान गुमाउनुभएकी ४७ वर्षीया चनमति लामगाडेले भन्नुभयो, ‘चार सन्तानको सास त दैवले चुँड्यो, बाँकी बचेका चार जनाको टहराको बास र थापेको गासमा चल्दै छ सास ।’
आइतबार (भदौ १४ गते) म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढीपहिरो पीडितहरूलाई पठाएको सहयोग रकम बुझ्न मराङको बेँशीमा आउनुभएकी चनमतिले ५० हजार रुपैयाँ सहयोग रकम बुझेपछि हिमालय टाइम्ससँग भन्नुभयो, ‘मुटु भक्कानिन्छ, रिंगटा लाग्छ, मर्छुजस्तै हुन्छ तर, श्रीमान्को मुख हेर्न जसोतसो बाँचुजस्तो लाग्छ ।’
चनमतिका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ । घरमा रहेका २६ बर्षीया बुहारी सपना लामगाडे, सात बर्षीय नाति आशिष, चार बर्षीय नाति आयुष र तीन बर्षीया नातिनी आयुषालाई पहिरोमा गुमाउनुभएकी चनमति अझै सम्हालिन सक्नुभएको छैन ।
असार २५ गतेको मध्यरात, आकाशबाट मुसलधारे पानी पर्न थाल्यो । गोठमा बाँधेका गाईवस्तु कराउन थाले । मस्त निन्द्राबाट बिउँझेर चनमति गोठमा पुग्दा माथिबाट आएको पहिरोले गोठ भत्किएको थियो । दाम्लो फुकाएर गाईवस्तुलाई गोठबाट उत्तरतर्फको सुरक्षित स्थानमा लैजाँदै गर्दा पहिरो घरमाथि नै आइपुग्यो । मध्यरातको अँध्यारोमा हेर्दाहेदै पहिरोले घर पु¥यो । घरभित्र रहेका चार जना सदस्य पुरिए । यो सबै यति छिटो भयो कि चनमतिले केही सोच्नै भ्याउनुभएन ।
असार २५ गते राति धवलागिरि गाउँपालिका–६ मराङमा आएको पहिरोले चनमतिका चार परिवारसँगै सोही गाउँका १९ जनाले ज्यान गुमाए । एकै घरका चार जना सदस्य पहिरोमा परेर ज्यान गुमाएकी चनमति मात्रै होइन गाउँकै अर्की राजमति सिर्पाली पनि हुनुहुन्छ । २४ बर्षीय छोरा मन बहादुर, २३ बर्षीया बुहारी कमला, सात बर्षीया नातिनी सुरक्षा र दुई बर्षीय नाति सुरजलाई आँखैअगाडि गुमाउनुभएकी राजमति पहिरोमा परी घाइते हुनुभएकी माइली बुहारीको उपचारका लागि अहिले पोखरामा हुनुहुन्छ ।
राजमतिको गाउँमा फर्किने अवस्था नै नरहेको स्थानीयहरूले बताएका छन् । पहिरोले नामनिसाना समेत मेटिने गरी भत्किएको घर, पाक्न लागेको खेतीपातीसँगै खेतबारी पहिरोमै पुरियो । गाउँमा गएर कमाइ लाउने खेतबारी र बस्ने घरसमेत नभएको अवस्थामा उहाँ अहिले पोखरामा नै बस्नुभएको मालिका गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।
पहिरोमा परी मराङमा मात्रै १९ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते र दुई जना अझै बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन । विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको माग गरेका छन् ।
गाउँमा रहेका अन्य मृतकका परिवारको अवस्था पनि दयनीय रहेको छ । कसैले बुबा गुमाएका छन् भने कसैले छोरा, बुहारी र नातिनातिना गुमाएका छन् । कैयौं परिवार विस्थापित भएका छन् । पूर्ण क्षति भएका ७२ घर परिवार अस्थायी टहरोमा, आफन्तकहाँ र सार्वजनिक स्थानहरूमा रात बितारहेका छन् ।
पहिरो गएको ५२ दिन बितिसक्दा पनि मराङका पहिरो पीडितहरूका लागि पुनर्वासको उचित प्रबन्ध हुन सकेको छैन । खानका लागि देश विदेशमा रहेका विभिन्न संघसंस्था, सरकार र व्यक्तिहरूले सहयोग गरेका भए पनि बस्ने वासको अभावले उनीहरूलाई सताइरहेको छ ।
वडाध्यक्ष सुवेदीले पहिरो पीडितहरूका लागि एकीकृत पुनर्वासको व्यवस्था गर्ने कि अलग–अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल भएको बताउनुभयो । उहाँका अनुसार कतिपय पहिरो पीडितहरूको घडेरीसमेत नभएकाले एकीकृत पुनर्वासको अवधारण ल्याइए पनि कतिपय चाहिँ आफ्नै घडेरीमा बस्न चाहेकाले समस्या भएको छ । घडेरीसमेत नभएकाहरूका लागि उचित स्थानको खोजी भइरहेको उहाँले बताउनुभयो ।




















