कोरोना कहर- प्रणय शिखरमा देखिनै छोडे प्रेमिल जोडी

 म्याग्दी । दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको चहलपहल हुने लभ्लीहिल (प्रणय शिखर) मा प्रेमिल जोडिहरु देखिन छोडेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु आउन छोडेपछि प्रणशिखर सुनसान देखिएको हो ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको लभ्लीहिलमा बिहान मर्निङ वाक गर्नेदेखि बेलुका इभिनिङ वाक र दिउँसोको समयमा घुम्ने आन्तरिक पर्यटकहरु कोरोना संक्रमणका डरले यहाँ आउनै छोडेका छन् । लकडाउन हुनु पूर्वको समयमा दैनिक सयौं जनाको संख्यामा भीडभाड हुने ठाउँ अहिले सुनसान देखिन्छ ।

पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले ओझेलमा परेको छ । 

खबरामा रहेको लभ्लीहिल आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रुपमा चिनिन्छ । खासगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा परिचित लभ्लीहिल  विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको थियो । तर कोरोना संक्रमणको त्रासले  गर्दा लभ्लीहिल भ्रमण गर्न आन्तरिक पर्यटकहरु पुग्न सकेका छैनन् । 

बेनीबजारसँगै जोडिएको खबरा नजिकै रहेको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ । खबराका स्थानीय चन्द्रबहादुर कार्कीले पहिले दैनिक सयौंको संख्यामा मानिसहरु घुम्न आउने गरेको भए पनि अहिले लभ्लीहिलमा मानिसहरु नै आउन छाडेको बताए । उनले लकडाउनले गर्दा पर्यटकीय क्षेत्रको भ्रमण तथा कृषिजन्य उत्पादन समेत बजारीकरणमा समस्या आएको बताए ।

 बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ । 

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

 बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ वस्तीको समेत सम्भावना रहेको छ । 

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरु बताउँछन् । 

लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धाहरु रमाउने स्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसाय समेत फस्टाउने सम्भावना देखिन्छ ।