म्याग्दी । अमेरिकाको न्यूयोर्कमा रमाइरहेका म्याग्देलीहरुलाई गत असार २५ गते म्याग्दीको मराङ र बिममा ३१ जनाको ज्यान लिनेगरी आएको बाढी पहिरोको खबरले मर्माहत बनायो ।
न्यूयोर्कको बाटोमा भविस्यको यात्रा गरिरहेका म्याग्देलीहरुको मन आफ्नै पाखा पखेरामा पुग्यो । पहिरोबाट क्षतविक्षत भएका गाउँवस्तीमा पुग्यो । कानले पीडितहरुको चित्कार र रुवाई सुनेको अनिभूति गर्न थाले । मन अमिलो भयो । र, उनीहरुलाई लाग्यो जन्मभूमिमा पीडा छ, हामीले पनि केही सहयोग गर्नै पर्छ ।
त्यसपछि उनीहरु म्याग्दी समाज न्यूयोर्क मार्फत संगठितरुपमा नै आफ्नो गृहजिल्लाका बाढी पहिरो पीडितहरुलाइ आर्थिक सहयोग जुटाउने अभियानमा लागे । रमेश तुलाचनको संयोजकत्वमा सहयोग संकलन समिति गठन भयो । र डेढ महिनाको अविधिमा अमेरिकाको न्यूयोर्कमा रहेका म्याग्देलीहरुबाट मात्र रु ५० लाख भन्दा बढी रकम संकलन भयो । यसरी संकलन गरेर अमेरिकाको न्यूयोर्कमा रहेका म्याग्देलीहरुले पठाएको रु ३० लाख शनिवार र आइतवार म्याग्दीको मालिका,मंगला र धवलागिरि गाउँपालिकाका बाढी पहिरो पीडितहरुलाई वितरण गरिएको छ ।
म्याग्दी समाज न्यूकोर्कले पठाएको रकम पश्चिम म्याग्दीको तीन स्थानीय तहमा बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवार, घरसहित भत्किएर पूर्ण विस्थापित, सुत्केरी, र घाईतेलाई सम्वन्धित गाउँपालिका प्रमुख, वडा अध्यक्ष म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुन,पत्रकारद्धय हरिकृष्ण गौतम र धु्रबसागर शर्मा, समाजसेवी रेशम पुन मगरले हस्तान्तरण गर्नुभएको हो ।
समाजले पूर्णरुपमा विस्थापित ९७ घरधुरी लाई प्रति घरधुरी रु २५ हजार, ३१ जना मृतकलाई प्रति मृतक १० हजार, १३ जना घाईतेलाई प्रति घाईते १० हजार र ४ जना सुत्केरी महिलालाई १० हजारको दरले सहयोग हस्तान्तरण गरेको समाजका म्याग्दी प्रतिनिधि पूर्णबहादुर पुनले जानकारी दिनुभयो ।
‘सहयोग पीडितकै हातमा हस्तान्तरण गरिएको छ, पुनले भने । पश्चिम म्याग्दीमा बाढीपहिरोबाट केही घर थपिएकाले समाजमा जानकारी समेत गराइएको उहाँले बताउनुभयो ।
मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगर, उपाध्यक्ष रेशम छन्त्याल,मंगला–५ का अध्यक्ष भुपेन्द्रबहादुर क्षेत्री, मालिका–५ की अध्यक्ष पिपला बुढा, वडा नंं ६ का अध्यक्ष सन्तनाथ सुबेदी, वडा नं ७ का अध्यक्ष रेशमबहादुर जुग्जाली, धवलागिरी गापा–६ का अध्यक्ष राजाराम सुबेदी,वडा नं ७ का अध्यक्ष कलानिधि सुबेदीको रोहबरमा उनीहरुमार्फत नै सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्ने जनप्रतिधिले ब्यक्तिगत रुपमा प्राप्त सहयोगले पीडितलाई राहत मिलेको बताउँदै पूर्नवास अभियानमा समेत सहयोग गर्न अनुरोध गरेका थिए ।
सहयोग रकम प्राप्त गरेका बाढी पहिरो पीडितहरुले सहयोगदाताहरुलाई धन्यवाद दिँदै रकमले तत्कालको समस्या समाधानका लागि ठूलो राहत हुने बताए । धवलागिरि गाउँपालिका ६ मराङका मनवहादुर श्रीपालीले सातसमुद्रपारी (अमेरिका)बाट आफूहरुका लागि यति धेरै रकम सहयोग गरेकोमा समाजलाई धन्यवाद सहित शुभाशिष व्यतm गर्नुभयो ।




















