कतारमा कार्यरत श्रमिकले अब १८ सय रियाल पाउने/रोजगारदाता समेत परिवर्तन गर्न पाउने।

काठमाडौं- कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। त्यस्तै रोजगारदाता समेत परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ। रोजगारदाता मन नपरेको अवस्थामा आप्रवासी श्रमिकहरुले बिनाअनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो।त्यस्तै कतारले न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल बनाएको छ।

खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने छ।

त्यस्तै, कुवेतले कोरोनाका कारण भिसा अवधि सकिएका तर स्वदेश फर्कन नपाएका श्रमिकहरुका लागि ३ महिना भिसा अवधि थप गरिदिने भएको छ। यस अघि पनि १ मार्च २०२० यता भिसा समाप्त भई कुवेतमा रहँदै आएकाहरुका लागि ३ महिना भिसा अवधि थप गरेको थियो। ३१ अगस्टसम्मका लागि थपिएको उक्त भिसाको म्याद पुनः गुज्रिने बेला भएको छ।

तर पनि को’रोना महामारीका कारण नेपाली श्रमिकहरु स्वदेश फर्कन पाएका छैनन्। जसले गर्दा भिसा अवधि सकिएका तर स्वदेश फर्कन नपाएका श्रमिकहरुको भिसा अवधि पुनः ३ महिना थपिदिने निर्णय कुवेत सरकारले गरेको हो। कुवेत सरकारले ३० नोभेम्बर २०२० सम्म भिसा थपिदिने निर्णय गरेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।