क्वालालम्पुर (मलेसिया):= रसुवागढी हुँदै भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नेपाली नागरिकको सहयोगका लागि मलेसियामा रहेका समाजसेवी युवा तथा व्यवसायी राजु तामाङले ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
आरटीएफसी फुटबल क्लब मलेसियाका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्षसमेत रहेका तामाङले विपद्को यस घडीमा बाढीपीडित नेपालीहरूको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन्।
विगत एक दशकदेखि मलेसियामा व्यवसाय गर्दै आएका तामाङ सुरक्षागार्डसम्बन्धी व्यवसायमा संलग्न छन्। व्यवसायसँगै उनी सामाजिक सेवा र खेलसेवाको क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
तामाङले मलेसियामा आरटीएफसी फुटबल क्लबमार्फत विभिन्न समयमा फुटबल प्रतियोगिता आयोजना गर्दै प्रवासी नेपाली खेलाडीहरूलाई प्रोत्साहन गर्दै आएका छन्। विशेषगरी प्रवासी नेपाली युवाहरूमा रहेको फुटबल खेल प्रतिभालाई पहिचान गर्दै उनीहरूको क्षमता र ट्यालेन्टलाई कदर तथा प्रोत्साहन गर्ने कार्यमा तामाङ सक्रिय छन्।
नेपालमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा प्रवासमा रहेका नेपालीहरूबाट निरन्तर सहयोग जुटिरहेको छ। तामाङको यो सहयोगले बाढीपीडित परिवारलाई राहत पुर्याउन केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।
तामाङले विपत्तिको समयमा सबै नेपालीलाई आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार पीडितहरूको सहयोगमा जुट्न आग्रह गरेका छन्।




















