नेपालमा आएको बाढीप्रति मलेसियालि राजाको चासो, उद्दारमा खट्न निर्देशन।

क्वालालम्पुर (मलेसिया):= नेपालमा आएको भीषण बाढीका कारण प्रभावित भएका मलेसियाली नागरिकको उद्धार तथा उनीहरूको अवस्थाबारे तत्काल जानकारी उपलब्ध गराउन मलेसियाका सर्वोच्च संघीय राजा याङ दि–पर्तुआन आगोङ सुल्तान इब्राहिम बिन इसकन्दरले विदेश मन्त्रालय (विस्मा पुत्र) लाई निर्देशन दिनुभएको छ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै अगोङ सुल्तान इब्राहिमले नेपालमा बाढीबाट प्रभावित मलेसियाली नागरिकको सुरक्षा तथा अवस्थाबारे आवश्यक सबै कदम चाल्न विदेश मन्त्रालयलाई निर्देशन दिनुभएको हो।

उहाँले प्रभावित मलेसियाली नागरिकको सुरक्षा र अवस्थाबारे प्राप्त पछिल्लो जानकारी उनीहरूका परिवार तथा आफन्तसम्म यथाशीघ्र पुर्‍याउनसमेत निर्देशन दिनुभएको छ। “म विस्मा पुत्रलाई आवश्यक सबै कदम चाल्न आग्रह गर्दछु। साथै, प्रभावित मलेसियाली नागरिकको सुरक्षा र उनीहरूको अवस्थाबारे पछिल्लो जानकारी सम्बन्धित परिवारका सदस्यहरूसम्म पुर्‍याउनुपर्छ,” अगोङ सुल्तान इब्राहिमले भन्नुभएको छ।

अगोङ सुल्तान इब्राहिम र राजा पर्माइसुरी अगोङ राजा जरिथ सोफियाले नेपालमा आएको प्राकृतिक विपद्का कारण प्रभावित मलेसियाली नागरिकप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीहरूको सुरक्षाका लागि प्रार्थना गर्नुभएको छ। उनीहरूले सबै प्रभावित नागरिक सुरक्षित रहेको र विपद्का बीचमा उद्धार तथा अन्य आवश्यक कार्यहरू सहज रूपमा सम्पन्न होऊन् भन्ने कामनासमेत गर्नुभएको छ।

५५ मलेसियाली अझै सम्पर्कविहीन

यसैबीच, मलेसियाको विदेश मन्त्रालय (विस्मा पुत्र) ले नेपालमा आएको भीषण बाढीपछि ५५ जना मलेसियाली नागरिक अझै सम्पर्कमा आउन नसकेको जनाएको छ।

मन्त्रालयका अनुसार उक्त संख्या प्रभावित नागरिकका परिवार, पर्यटनसम्बन्धी एजेन्सी तथा अन्य सम्बन्धित स्रोतबाट प्राप्त पछिल्लो विवरणका आधारमा निर्धारण गरिएको हो।

नेपालको चीनसँगको सीमा क्षेत्रमा पर्ने रासुवा जिल्लाका विभिन्न बस्ती तथा पदयात्रा मार्गमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या १६२ पुगेको छ भने सयौँ व्यक्ति अझै बेपत्ता छन्।

बाढीबाट प्रभावित क्षेत्रमा रहेका मलेसियाली नागरिकको अवस्था पत्ता लगाउने, उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने तथा परिवारसँग सम्पर्क गराउने प्रयासलाई प्राथमिकता दिइएको छ। – बेर्नामा