क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली सुरक्षागार्ड अजय राज चौधरीले नेपालमा रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेका छन्।
सुनसरी जिल्लाका स्थायी बासिन्दा चौधरी विगत एक वर्षदेखि मलेसियाको एक सुरक्षा कम्पनीसँग आबद्ध भई क्वालालम्पुर मेरडेका गार्डेन क्षेत्रमा सुरक्षा गार्डका रूपमा कार्यरत छन्। सीमित आम्दानीका बाबजुद पनि देशमा आएको विपत्तिका बेला पीडित नेपाली नागरिकलाई आफ्नो तर्फबाट थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत नेपाली रुपैयाँ ५ हजार सहयोग गरेका हुन्।
चौधरीले आफू वैदेशिक रोजगारीमा रहेर सामान्य सुरक्षा गार्डका रूपमा काम गरिरहेको भए पनि मातृभूमिमा विपत्ति परेको अवस्थामा पीडित नेपाली परिवारका लागि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले आफ्नो मेहनतको कमाइबाट उक्त रकम सहयोग गरेको बताएका छन्।
रकमको मात्रा ठूलो नभए पनि एक नेपाली सुरक्षा गार्डले आफ्नो मेहनतको कमाइबाट विपत्तिमा परेका देशवासीका लागि सहयोग गर्नु मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको छ। अजय राज चौधरीको यो सहयोगी भावना र ठूलो हृदयलाई प्रशंसा गर्नैपर्छ।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशमा रहेका नेपालीबाट प्राप्त यस्ता सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै मानवीय एकताको सन्देशसमेत दिने अपेक्षा गरिएको छ।




















