काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी नेतृत्व प्रतिको विवाद सुल्झाउन निर्माण भएको कार्यदलको प्रतिवेदनलाई लिएर शीर्ष नेताहरु नै असन्तुष्ट भएका छन् ।
समाचार स्रोतका अनुसार पूर्वप्रधानमन्त्री तथा वरिष्ठद्धय नेता माधवकुमार नेपाल र झलनाथ खनाल नै प्रतिवेदनका मुलभूत विषयमा असन्तुष्टि पोख्नु भएको उहाँहरु निकट नेताहरुले बताएका छन् । वरिष्ठ नेता नेपालले आफू निकटसँग खुलेरै प्रतिवाद गर्नुभएको बुझिएको छ । उहाँले अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित नेताले गम्भीर धोका दिएको समेत भन्न भ्याउनु भएको छ ।
शनिबार अध्यक्षद्वयलाई बुझाइएको कार्यदलको प्रतिबेदनलाई लिएर नेता नेपालले महासचिव बिष्णु पौडेल नेतृत्वको कार्यदलमा रहेका आफू निकट दुई सदस्य र अध्यक्ष प्रचण्डले धोका दिएको निष्कर्ष आफू निकटलाई सुनाउनु भएको एक स्थायी कमिटी सदस्यले नै बताउनु भयो ।
कार्यदलमा रहेका चार नेता महासचिव पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसालले ल्याएको कुरामा सहमति जनाएर आफूले विश्वास गरेकाबाट पनि धोका भएको उहाँको ठम्याइ छ । आफू निकट भनिएका नेता भीम रावल र सुरेन्द्र पाण्डेले पनि आफ्नो स्वार्थ मात्रै हेरेर आफूहरुलाई धोका दिएको निश्कर्ष नेता नेपाल पुग्नु भएको छ ।
नेपाल निकट नेताका अनुसार वरिष्ठ नेताहरुसहित आफू पछिल्लो समयमा पार्टी भित्र देखिएको एकल बर्चस्वले पार्टीलाई आघात पुगेको र त्यसको विरुद्धमा आवाज उठाएको मात्र हो भन्नु भयो ।
उहाँका अनुसार कार्यदलको प्रतिवेदन पढेपछि नेता नेपाल प्रतिवेदनले पदको बाड्फाँडको हिस्सा केन्द्रित भएको सन्देश गएको उहाँको गुनासो छ । तर , नेता नेपालले बिधि र पद्धतिमा पार्टी चल्नुपर्छ मात्र भन्दै आएको उहाँको प्रस्टीकरण रहेको उहाँले बताउनु भयो ।
यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा केपी शर्मा ओलीबिरुद्ध संयुक्त मोर्चा बनाएर जाने पूर्वसहमति तोडेर ओलीलाई नै झन बलियो बनाउने गरी कार्यदलमार्फत प्रतिवेदन लेखाएको भन्ने वरिष्ठ नेता नेपालको गुनासो भएको बुझिएको छ ।
नेता नेपालले अध्यक्ष प्रचण्डले आफूहरुलाई खाल्डो खन्न लगाएर आफूहरुलाई नै खसाली दिएर अघि बढेको कठोर निश्कर्षसमेत निकाल्नुभएको छ ।
कार्यदलको प्रतिवेदनले नेकपाभित्र देखिएको बिवाद केही होइन, जवर्जस्त झिकाएको हो, अध्यक्ष ओलीको बिरोध गर्नेहरु पदलोलुप र एजेण्डाबिहीन हुन् भन्ने पो देखायो, यो प्रतिवेदनअनुसार त नेकपामा बिवाद छँदैछैन भन्ने भयो,’ नेता नेपालको आशय भएको बुझिएको छ ।
कार्यदलको प्रतिवेदनले पार्टीभित्र भएको समस्याको ठोस समाधान नदिएको उहाँहरुको तर्क छ । पार्टीभित्रको समस्या दुई अध्यक्षबीच शक्ति बाँडफाँडको विषय मात्रै होइन,’ ती नेताले भन्नुभयो, ‘कार्यदल गत मंसिर ४ मा भएको दुई अध्यक्षबीचको शक्ति बाँडफाँडको घेराभन्दा बाहिर निस्कन सकेको देखिँदैन ।’ उहाँले कार्यदलको प्रतिवेदनले समस्याको समाधान नदिने बताउनुभयो । ‘त्यस समयमा दुई अध्यक्षबीच भएको सम्झौताले मात्र समाधान दिएको थिएन, अहिले पनि दिँदैन,’ उहाँले प्रस्ट पार्नुभयो ।
सुझाव संकलन प्रतिवेदनमा सरकारको नेतृत्व ओलीले नै गर्ने र पार्टी सञ्चालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने गरि सुझाव छ ।
तर, अध्यक्षद्वयको कार्यविभाजन, मन्त्रिपरिषद्, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिसलगायत महत्त्वपूर्ण विषयमा भने पार्टीमा छलफल भएपछि मात्रै सरकारले निर्णय लिनुपर्ने, एकता महाधिवेशनबाट अन्य कुराको समाधान खोजिनु पर्नेलगायत छन् ।
अध्यक्षद्वय ओली र दाहालबीच मंगलबार भएको सहमतिअनुसार आगामी शनिबार सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बालुवाटारमा भएको अध्यक्षद्वय ओली र दाहालको छलफलले सचिवालयको मिति तय गरेको बताइएको छ । छलफलका क्रममा पार्टीको सचिवालय बैठक भदौ १३ गते बोलाउने सहमति भएको छ । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका सुझावका विषयमा छलफल हुने छ ।




















