काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यकबाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । बैठकका निर्णयहरू सुनाउँदै मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझै पनि कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गतेसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णयसमेत गरेको छ । यसबाहेक कोभिड–१९ संक्रमित व्यक्तिको कन्ट्र्याक्ट ट्रेसिङमा परेका सबै मानिसको पिसिआर परीक्षण स्वास्थ्य मन्त्रालयअन्तर्गतको ‘केस इन्भेस्टिगेसन एण्ड कन्ट्र्याक्ट ट्रेसिङ’ (सिआइसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
उपत्यका मेयर फोरमका अध्यक्षसमेत रहनुभएका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरूको पिसिआर परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो । अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको पिसिआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसहरूको एकपटक परीक्षण गर्ने निर्णय गरिएको बताउनुभयो । निषेधाज्ञाको अवस्थामा उपत्यकाबाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताउनुभयो ।
काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढ्दै गएको छ । त्यसैले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ४ गतेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् । तर पनि उपत्यकामा संक्रमणको दर घट्न सकेको छैन । त्यसैले पनि फोरमले निषेधाज्ञालाई केही समय थप गर्न सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाएको हो ।




















