मलेसियाबाट अगष्ट २८ र ३० तारिख पुनः चार्टर्ड उडान हुने।

क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस (कोभिड-१९) को संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान बन्द गर्ने निर्णय गरेपछि केहिदिनदेखि रोकिएको हवाईउडान सरकारले फेरि सञ्चालन गर्ने निर्णय गरेसँगै मलेसियाबाट पनि पुनः चार्टर्ड उडान हुने तय भएको छ।

यहीँ अगष्ट महिनाको २८ तारिख,शुक्रबारको दिनमा हिमालय र नेपाल एअरलाइन्सका गरी दुई उडान र अगष्ट ३० तारिख आईतबारको दिनमा हिमालय, नेपाल एअरलाइन्स र मालिण्डो एअरलाइन्सले एक, एक वटा उडान भर्ने तय भएको मलेसिया स्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

[ मलेसिया स्थित नेपाली दूतावास ले जारी गरेको सुचना ]

यो उडानमार्फत स्वदेश फर्कनका लागि यसअघि अगष्ट १९, २० र २१ मा हुने उडानमार्फत घर फर्कन टिकट लिइसकेका यात्रुलाई आफ्नो एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गरी आफ्नो उडान सुनिश्चित गर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ।

यो उडानमार्फत कोभिड १९ पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र नेपाल फर्कन पाउनेछन् । पीसीआरबाहेक अन्य परीक्षण मान्य नहुने दूतावासले स्मरण गराएको छ । रिपोर्ट नेपाल पुग्ने दिनसम्म सात दिनभित्रको हुनुपर्नेछ।

पहिले पीसीआर परीक्षण गरी नेगेटिभ आएको तर नेपाल पुग्ने दिनसम्म सातदिन कट्ने भएमा फेरि जाँच गराउन दूतावासले अनुरोध गरेको छ।