चार्टर्ड उडान पनि अनिश्चितकालको लागी बन्द/विदेशबाट फर्किने नेपाली अलपत्र।

काठमाडौं:= सरकारले विदेशमा रहेका नेपाली स्वदेश फर्काउनका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालको लागी बन्द गरेको छ।

सरकारको “कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गरेको हो । नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्थामा विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने वढ्दो क्रम रहेको र होटल क्वारेण्टाईनका लागि होटल व्यवस्थापन पुरा नभएको भन्दै सरकारले चार्टर उडान अर्को सुचना सार्वजनिक नहुन्जेलसम्मको लागि स्थगित गरेको बताएको छ ।

सरकारको यस्तो निर्णय पछि मलेसियाबाट यही अगष्ट १९, २० र २१ मा नेपाल सम्मको लागी तय भएका नेपाल एयरलाइन्स , हिमालयन एयरलाइन्स र मालिन्डो एयरलाइन्सको सम्पूर्ण चार्टर्ड उडान रद भएका छन् भने , खाडी लगायत अन्य अन्तर्राष्ट्रिय देशहरुबाट तय भएका उडानहरु पनि रद्द भएका छन।

त्यस्तै अबदेखि विदेशबाट नेपाल आउने नेपालीहरुले करिब १ हप्ता अनिवार्य काठमाडौं उपत्यकामा सरकारले तोकेको होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। दैनिक ३ देखी १० हजार सम्मको र बढीमा २१ हजार देखि ७० हजारबढी रुपैया क्वारेन्टाइन खर्च भार विदेशबाट फर्किने नेपालीले आफैंले तिर्नुपर्नेभएको छ।