फुटबल खेलाडीको कोरोना परीक्षण आज

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलको तयारी सुरु गर्न लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुको सोमबार कोरोना परीक्षण हुने भएको छ । खेलाडीको कोरोनाको पिसिआर परीक्षण पाटन अस्पतालमा गरिनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टल स्टाफहरुको कोरोना परीक्षण हुने जनाएको छ । सोमबार र मंगलबार गरेर दुई चरणमा कोरोना परीक्षण गरिने एन्फाले विज्ञप्तिमार्फत जनाएको छ ।

सरकारले अनुमति दिएसँगै एन्फाले भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारीमा गरेको छ । खेलाडीहरु यतिबेला क्वारेन्टिनमा छन । काठमाडौंबाहिरका खेलाडीहरु होटलमा बसिरहेका छन् भने उपत्यकाका खेलाडीहरु घरमा नै बसिरहेका छन् । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले ए डिभिजन लिग खेलेका खेलाडीबाट ३३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग र असोज २७ गते अष्ट्रेलियासँग खेल्दैछ ।