काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतलाई भगवान् गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य ऐतिहासिक र पुरातात्विक तथ्यहरूबाट स्थापित र निर्विवादित तथ्य भएको स्मरण गराएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले भगवान् गौतम बुद्धका बारेमा दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले ऐतिहासिक र पुरातात्विक तथ्यहरुले प्रमाणित गरेको स्थापित र निर्विवादित तथ्य स्मरण गराएको हो ।
‘यो ऐतिहासिक र पुरातात्विक तथ्यहरुले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो,’ परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मको सुरुवात भएको थलो र युनेस्कोको विश्व सम्पदा सूचीमा सुचीकृत स्थलहरूमध्ये एक हो ।’
परराष्ट्रले अन्तर्राष्ट्रिय समुदाय जानकार भएको भगवान् गौतम बुद्धको जन्मस्थानबारे बहस आवश्यक नभएको पनि स्पष्ट पारेको छ । ‘यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहित र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।’
परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्ध नेपालमा जन्मिएको भन्नेबारे उल्लेख गरेको स्मरण गराएको छ । ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै बुद्धको जन्म नेपालमा भएको भन्नुभएको थियो,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।’
यसैबीच, भारतका विदेशमन्त्री एस. जयशंकरले भगवान् गौतम बुद्ध भारतीय नागरिक रहेको दाबी गरेपछि दलहरुले समेत त्यसको आपत्ति जनाएका छन् । गौतम बुद्धप्रतिको पछिल्लो अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाउँदै नेपाल र नेपालीको भावनामाथि चोट पु-याउने कार्य स्वीकार्य नभएको प्रस्ट्याएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार ट्वीटरमार्फत् पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्री जयशंकर दिएको अभिव्यक्तिप्रति असन्तु्ष्टि व्यक्त गर्दै ‘आवेगको जवाफमा आवेग’ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।
‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भू–भाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।’
यसैबीच, एस.जयशंकरले भगवान गौतम बुद्ध भारतीय भनेर दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि आपत्ति जनाउनुभएको छ । पूर्व–प्रधानमन्त्री तथा नेकपाका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपालले भन्नुभएको छ, ‘लुम्बिनीमा जन्मिएका बुद्धलाई महान् भारतीयले गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ ।’ भारतीय विदेशमन्त्री जयशंकरले शनिबार दुईजना महान भारतीय गौतम बुद्ध र महात्मा गान्धी विश्वमै प्रख्यात रहेको भन्नुभएको थियो । उहाँको यो भनाइप्रति नेपालमा निकै आलोचना भइरहेको छ । लगभगसबै दलका नेताहरुले यो विषयमा आपत्ति प्रकट गरेका छन् ।
यसअघि शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन ‘कन्फडरेशन अफ इन्डियन इन्डस्ट्री’ ले आयोजना गरेको भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय नागरिक’ भन्नुभएको थियो । ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ,’ उहाँले सम्मेलन सम्बोधनका क्रममा भन्नुभएको थियो ।




















