काठमाडौं := सरकारले भदौ १ देखि हवाई सेवा सुरु गर्ने तयारी गरिरहेको छ । सरकारको निर्णयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान कार्यालयले तयारी थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने एयरलाइन्स र उडान गन्तव्यबारे निर्णय गरिसकेको छैन ।
यसै गरी स्वदेशी तथा विदेशी हवाई सेवा कम्पनीले पनि उडान तयारी गरेका छन् । नेपालमा उडान गर्न १३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले अनुमति मागेका छन् । प्राधिकरणका अनुसार उडान अनुमतिका लागि १३ एयरलाइन्सले निवेदन दिएको र गन्तव्यबारे निर्णय गर्न लागिएको छ । कुन-कुन एयरलाइन्स र कुन-कुन गन्तव्यबाट नेपाल आउन र नेपाली विमान कम्पनीलाई पनि कुन-कुन गन्तव्यमा उडान अनुमति दिने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ ।
कोरोना बढी प्रभावित गन्तव्यमा जान र त्यस्ता गन्तव्यबाट नेपालमा आउन नदिने तयारी सरकारको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ९ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको हो ।
अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडानका लागि स्वदेशी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सले अनुमति मागेका छन् भने नेपालमा उडान भर्न कतार एयरवेज, कोरियन एयर, इत्तिहाद, एयर अरेबिया, टर्किस् एयरवेजलगायत विमान कम्पनीले आवेदन दिएको प्राधिकरणले जनाएको छ ।




















