पशुपति क्षेत्र विकास कोषमा अनियमितता गर्नेलाई कारबाही हुन्छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गैरकानुनी तवरबाट आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको हो । 

उहाँले आर्थिक लेनदेनलाई प्रशय दिएकै कारण पशुपति क्षेत्रभित्र बाटोबाटोमा पसल राख्ने, पार्किङ जथाभावी गर्ने क्रियाकलाप बढेको भन्दै त्यसमा प्रशय दिनेलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरू गरी नर्क जाने काम नगर्नसमेत आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यहाँभित्र पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथिहरूलाई पनि भन्न चाहन्छु । कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरूलाई प्रशय दिने काम तपाईंहरूबाट भएछ भने तपाईंहरूमाथि पनि म कारबाही गर्छु । मैले प्रष्ट ढंगले भनेको छु । किन भने यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो । धर्म गर्न आउने हो । त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेलहरू भएभने त्यो नर्कको बाटो हुन्छ । यो स्वर्ग जाने बाटो हो । पशुपति भनेको ।’ 

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय मानिसहरू र राजनीतिक व्यक्ति लगायतले विरोध गरिरहेको उल्लेख गर्दै सरकारले बिना विकल्प बासस्थानबाट बेदखल नगर्ने स्पस्ट पार्नुभयो । तर कुनै राजनीतिक उद्देश्यले, गलत मनशायले र गलत आर्थिक लेनदेनको कारणले सांस्कृतिक सम्पदाहरूको अुनचित ढंगले अतिक्रमण गर्न नपाउने बताउनुभयो । 

मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्र योजना र मापदण्डबिना बनाइएका संरचनाहरूलाई हटाउने समेत बताउनुभयो । पशुपति कुनै धर्म सम्प्रदाय र कुनै समुदायको मात्र नभएको उल्लेख गर्दै पहिलो अधिकार नेपाल राष्ट्रको भएको र त्यसपछिको अधिकार पशुपतिमाथि आस्था विश्वास राख्ने विश्वभरका करोडौं मानिसहरूको भएको प्रष्ट पार्नुभयो ।