गजल
जब यो देश चलाउने आफ्नै देश प्रति गद्दार हुन्छ ।
हो यही अवरसवादी स्वार्थका लागि लम्पसार हुन्छ ।
यो खबर आफैमा यत्ति खराब लाग्छ मुटु काँप्छ मेरो,
बाउले छोरी ससुरा बाट बुहारिको बलात्कार हुन्छ ।
प्रेमीले नमेटिने दाग दिएर गयो खुला बजारमा,
कस्तो प्रेम, जो गलत भएर गल्ती गर्न तयार हुन्छ ।
यो धर्तीको भार अनि जिउँदो लास हुनेछ त्यही प्रेमी,
जस्बाट अस्वीकारको बदलामा तेजाब प्रहार हुन्छ ।
हे ! नारीहरु जाग,हे! मान्छेहरु हामी कहिले जाग्ने हौँ,
जस्ले सहन्छ सधैँ, हो उसैमाथि झनै अत्याचार हुन्छ ।
न्याय यसरी मरेको छ पत्तो हुदैन कानुनी राज्यमा ,
कोही हत्या गरेर उम्कन्छ, चोरी गरेर फरार हुन्छ ।
समाज अझै बदलिएको छैन,मात्र खोल ओढे्को हो,
धनी गरिब जात धर्मकै कारण मारामार हुन्छ ।
पापीलाई नमर्दै सजाय दिनु पर्नेछ आँखाको सामु,
विश्वास छैन मरेपछि सजाय दिने कारागार हुन्छ ।
लेखक : रेशम राज बोगटी क्षेत्री(रश्म)
दोधाराचाँदनी,सुदुरपश्चिम (कञ्चनपुर)
(मलेशिया पेनाङ)



















