मलेसियामा कुटिएका नेपाली सुरक्षागार्ड दूतावासको शरणमा/सोमबार प्रहरीमा जाहेरी दर्ता गरिने।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली कामदारमाथि कुटपिट भइरहेको ४४ सेकेन्डको भिडियो शुक्रबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त भिडियोमा कम्पनीमा सुपरभाइजरको पोस्टमा कार्यरत रहेको जस्तो देखिने व्यक्तिले नेपाली सुरक्षागार्डलाई निर्घात रूपमा कुटपिट गरिरहेका छन् । अपार्टमेन्टको पार्किङमा कुटिरहेका नेपाली श्रमिकलाई मलेसियन भाषामा गाली पनि गरिरहेका छन् । तर, नेपाली श्रमिकले भने चुपचाप पिटाइ खाइरहेका छन् । भिडियो खिचिरहेका अर्को व्यक्तिले भने हिन्दी र नेपाली भाषामा ए , भाई धेरै भयो छोडिदेऊ भनिरहेका छन्।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेपछि मलेसियास्थित नेपाली दूतावासले सूचना जारी गरी भिडियोमा भएका व्यक्तिको बारेमा जानकारी भएमा खबर गर्न आह्वान गरेको थियो । भिडियोमाथि कमेन्ट गर्दै धेरै नेपालीले कुटपिट गर्नेलाई कडा सजायको माग गरेका छन् । मलेसियास्थित विभिन्न निकायले पनि सो घटनाको छानबिन माग गर्दै प्रहरी मा उजुरी सहित घोर निन्दासमेत गरेका छन्।

मलेसियामा नेपाली कामदारमाथि कुटपिट गर्ने व्यक्ति फेला फेलापरेको कुटपिट गर्नेलाई पनि सम्पर्क गरिसकेको मलेसियाका लागी नेपाली राजदूत उदयराज पाण्डेले बताए । राजदुत पाण्डेका अनुसार नेपाली सुरक्षागार्डमाथि कम्पनीका नेपाली सुपरभाइजरले नै निर्घात रूपमा कुटपिट गरेका हुन् । पीडित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूतावासमा आश्रय लिइरहेको बताएको छ।
राजदूत पाण्डेले भने, ‘हामी श्रमिक भएको स्थानमा गएर पीडितलाई दूतावासमा ल्याएका छौँ । सुरक्षाका लागि अहिले उनलाई दूतावासमा नै राखिएको छ ।’ राजदूत पाण्डेका अनुसार पीडक नेपाली श्रमिक गैरकानुनी ( अबैधानिक ) रूपमा मलेसियामा बस्दै आएका छन् । उनले पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा काम गर्न थालेको दूतावासले बताए।

दूतावासले सोमबार प्रहरीमा केस ( जाहेरी ) दर्ता गर्ने भएको छ । आइतबार सार्वजनिक बिदा हुने भएकाले दूतावासले सोमबार मात्रै केस दर्ता गर्ने राजदुत पाण्डेले जनाए।
दूतावासले पीडकलाई सम्पर्क गरी सोमबार प्रहरीमा बोलाएको तर पीडकको भिसाको अवस्थाबारे भने विस्तृत जानकारी नभएको बताए । सोमबार प्रहरीमा उजुरी दर्ता भएपछि दूतावासले सम्पूर्ण जानकारी गराउने उनले बताए । समाचारका कारण उजुरी दर्तामा समस्या पर्ने भन्दै राजदूत पाण्डेले पीडक र पीडितको नाम र कम्पनी खुलाउन नसक्ने बताए।