काठमाडौं := गत माघ अन्तिम साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमानसमेत सहभागी भएर आइसिसी विश्वकप लिग दुई सिरिज आयोजना भए । तर, पहिलो खेलमै राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकर घाइते भए । सिरिजअन्तर्गत नेपालले ओमानसँग पहिलो खेल खेल्दा ५५ रन जोडेका उनको ढाडमा समस्या आयो।
त्यससँगै उनले राष्ट्रिय टोलीको क्याम्प छाडे । लकडाउनले उनलाई चोटमुक्त हुन सहयोग पुर्यायो। उनी अहिले पूर्ण ठीक भइसकेका छन् । भन्छन्, ‘सामान्य समस्या थियो । त्यसैले ठीक हुन समय लागेन । लकडाउनपछि अभ्यास र प्रतियोगिता नभएकाले आराम गरिरहेको छु ।’ कोरोना प्रसार रोक्न लागू गरिएको लकडाउनबाट सबै क्षेत्र समस्याग्रस्त छन् । तर, चोटग्रस्त खेलाडीलाई त्यसबाट मुक्त हुने अवसर बन्यो, यही समय।
दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी सन्तोषी श्रेष्ठ पनि पछिल्लोपटक घाइते थिइन् । गत मंसिर अन्तिम साता काठमाडौंमा १३औँ सागअन्तर्गत महिलाको १० हजार मिटर दौडमा स्वर्ण जित्नुअघि नै उनको बायाँ खुट्टामा समस्या थियो।
१३औँ सागपछि पनि उनले चारवटा रोड रेस भ्याइन् । त्यतिवेलासम्म उनको खुट्टामा समस्या धेरै बढिसकेको थियो । लकडाउनका वेला आफ्नो स्वास्थ्यमा ध्यान दिएकी उनी पनि अहिले पूर्ण ठीक भइसकेकी छन्।
उनले जगिङ र सामान्य प्रशिक्षण सुरु गरेको त महिनादिन हुन लागिसक्यो । सातादिनदेखि दैनिक दुईपटक अभ्यास गर्न थालेकी छन् । बिस्तारै मुस्किल खालका प्रशिक्षण बढाउँदै लगेकी छन् । ‘लकडाउनको नराम्रो पक्ष मात्रै छैन,’ सन्तोषी भन्छिन्, ‘यसबीचमा अन्य कुनै खालको दबाब भएन। घरमै आराम गरेर बिताउन पाइयो । चाँडै फिट हुन पाएकी छु ।’
लकडाउनअघि महिला भलिबलका धेरै खेलाडी घाइते थिए । १३औँ सागमा नेपाललाई रजत पदक दिलाएका नेपाली भलिबल टोलीका मुख्य खेलाडीहरू विभिन्न प्रतियोगितामा एकपछि अर्काे घाइते भएका थिए । नेपाली टोलीकी मुख्य स्पाइकर प्रतिभा माली ३–१० माघमा नेपाल भलिबल संघद्वारा आयोजित एनभिए क्लब लिग प्रतियोगिताको फाइनल खेलमा घाइते भएकी थिइन् । सट प्रहार गरेर फर्किंदा ल्यान्डिङ बिग्रिएपछि उनको घुँडामा चोट लाग्यो।
शल्यक्रियापछि चिकित्सकले अभ्यासमा फर्कन १० महिनादेखि एक वर्षसम्म लाग्ने बताएका छन् । लकडाउनपछिको पहिलो महिना उनले थेरापी गर्न पनि पाइनन् । त्यसयता भने उनी नियमित थेरापी गरिरहेकी छन् । र, बिस्तारै ठीक हुने क्रममा छिन् । ‘अवस्था सामान्य रहेर प्रतियोगिताहरू भइरहेको भए कोर्टलाई धेरै मिस गर्थें,’ उनी भन्छिन्, ‘तर, अन्य कुनै चिन्ताविना नियमित थेरापी गर्दै चाँडै चोटमुक्त हुने प्रयासमा छु।’
भलिबल टोलीकै अर्की स्पाइकर सरस्वती चौधरीको खुट्टामा पर्वतमा आयोजित दिदीबहिनी कपमा सहभागी हुँदा चोट लागेको थियो । उनी लकडाउनकै बीचमा चोटमुक्त भइसकेकी छन् । अर्की भलिबल खेलाडी विनिता बुढाथोकी पनि चोटमुक्त हुने प्रयासमा छिन् । गत फागुनमा नेपालगन्जमा सम्पन्न प्रधानमन्त्री कप खेल्ने क्रममा उनको कुर्कुचामाथि गम्भीर चोट लागेको थियो । शल्यक्रियापछि उनी आराम गरिरहेकी छन् । सामान्य हिँड्न सक्ने भएकी उनलाई चिकित्सकले पूर्ण फिट हुन ५–६ महिना लाग्ने बताएका छन्।
भलिबल खेलाडी नेबिका चौधरी पनि गत माघ अन्तिम साता काठमाडौंमा सम्पन्न ढोरपाटन महिला भलिबलको अभ्यासका दौरान घाइते भएकी थिइन् । उनी पनि चोटमुक्त हुँदै छिन् । यस्तै, यु–१९ एएफसी कपको तयारीका क्रममा गत पुसमा फुटबल खेलाडी ब्रिजेश चौधरीको कम्मरमुनि चोट लाग्यो । उनी अहिले फिजियोथेरापी गराइरहेका छन्।source : naya patrika




















