महासंघमा चुनावी सरगर्मी

काठमाडौं । कोरोनाको कहरबीच निजी क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको हो । महासंघको आगामी साउन २६ र २७ गते साधारणसभा र नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । चैतको अन्त्यतिर निर्वाचन हुने गरेकोमा कोरोनाका कारण पछि सरेको हो ।

व्यवसायीहरूले संकटको बेला चुनावी प्रतिस्पर्धाभन्दा पनि सहमतिमा जोड दिनुपर्ने बताए पनि सहमतिको संभावना भने देखिएको छैन । खासगरी वरिष्ठ उपाध्यक्षका दुई प्रत्यासीले आफ्नो अडानबाट पछि हट्ने संकेत दिएका छैनन् । विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानबीच प्रतिस्पर्धा हँुदैछ । जिल्ला उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ भने वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुँदैछ । 

महासंघका कोषाध्यक्ष निरक केसीले सहमतिको संभावना नदेखिएको बताउनुभएको छ । त्यस्तै महासंघका सदस्य शिवप्रसाद घिमिरेले पनि सहमतिको संभावना देख्नुभएको छैन । महासंघ विगतमा सहमतिबाटै नेतृत्व चयन हुने गरेको भए पनि पछिल्लो समय राजनीतिक दलभन्दा पनि भड्किलो चुनावी प्रचारप्रसार हुने गरेको छ । भोट आफ्नो पक्षमा पार्न करोडौं रुपैयाँ भोज पार्टीमा सिध्याउने प्रचलनका करण राजनीतिक दलभन्दा महासंघको चुनाव महँगो हुने गरेको व्यवसायीहरूले नै टिप्पणी गर्ने गरेका छन् । 

यसैबीच महासंघका उपाध्यक्षका चन्द्रप्रसाद ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषषा गर्नुभएको छ । ढकालको टिमबाट उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई रहनुभएको छ ।

मंगलबार राजधानीमा आयोजित उम्मेदवारी घोषणासभामा ढकालले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई परास्त गर्दे उद्यागी व्यवसायीले खोजेको आर्थिक समुन्नत नेपाल प्राप्त गर्न काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । महासंघमा नयाँ नेतृत्वका रूपमा आउने आफ्नो टिमले कोरोनाबाट सिर्जित चुनौतीलाई परास्त गर्दै आर्थिकरूपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्ने उहाँको भनाइ थियो । उहाँले आर्थिक चुनौती संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामाना गरिरहेकोले नेपालले पनि सोही बाटोलाई पछ्याउनुको विकल्प नरहेको बताउनुभयो । 

ढकालले भन्नुभयो, ’कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामाना गर्न तपाईं हाम्रो व्याक्तिगत पहलमात्रै काफी हुँदैन, त्यसलाई प्रभावकारीरूपमा सामाना गर्न हामीबीच विश्वास, एकता र बल चाहिन्छ । हाम्रो सौभाग्य आज महासंघका रूपमा हाम्रा पूर्खाले नेपालको सबैभन्दा शसक्त फोरम उपहारमा दिएका छन्, त्यो फोरममा नयाँ विश्वास सिर्जना गर्न, त्यसमा एकता पैदा गर्न र त्यसलाई एउटा बलका रूपमा अघि बढाउन महासंघको नेतृत्व चयन गर्ने अवसर यही बेला आएको छ ।’ 

उहाँले आफ्नो टिम अनुभवले भरिएको, विश्वासले भरिएको, टिममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति रहेको र टिमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच रहेको दाबीसमेत गर्नुभएको छ । ढकालले आफ्नो र विपक्षी टिमको तुलना गर्न र विपक्षी उम्मेदवारको आगत र विगत हेर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘सुन्दैछु, अहिले फेरि तपाईंहरूलाई ती साथीहरूको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरि आश्वासन आउन थालेको छ रे ?, हृवाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे ? भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ ? फेरि उहाँहरूको फोन आउँछ भन्ने आशा तपाईंलाई छ ? फोन आउने कुरा त छाड्नुस्, तपाईंले गरेको फोन के उहाँहरूले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस् ।’

ढकालले आफ्नो टिम चुनाव जितेपछि सम्पर्कबाट नभाग्ने र प्रतिबद्धता पूरा गर्ने जिकिर गर्नुभएको छ । महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रूपमा शेखर गोल्छाले आफ्नो टिमको नेतृत्व गर्ने पनि उहाँले बताउनुभयो । केही महिनाअघि नेतृत्वमा बसेका अधिकांशले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर आफूले लविङ गरेको उहाँको भनाइ थियो । 

उहाँले आफ्नो नेतृत्व आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिश चाहिने कुरा उठाउने, नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई ३०–७० को सहभागिता लागू गर्न पहल गरिने, निम्न आय भएका संघलाई कम्तीमा वार्षिक ५ लाख रुपैयाँको आम्दानीको स्रोत जुटाउने मोडल बनाइने, उद्यमशीलता विकासका तालिम दिने, एक गाउँ, एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने, जिल्लाका नापतौल, अनुगमन, बैकिङ, राजस्वलगायत समस्या समाधान गर्न महासंघसँग सिधैं जोडिने गरी संयन्त्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

त्यस्तै देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भिœयाउन, नयाँ प्रविधि भिœयाउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायिका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ गर्ने उहाँले बताउनुभएको छ । महासंघको निर्वाचन साउन अन्तिम साता हुँदैछ । ढकालको प्रतिस्पर्धीका रूपमा किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने भएकाले वरिष्ठ उपाध्यक्ष तीव्र प्रतिस्पर्धा हुने गरेको छ । वरिष्ठ उपाध्यक्षका लागि सहमतिको प्रयास भए पनि सार्थकता पाउने देखिँदैन ।