न्यूयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना संकट अझै खराब भएर जान सक्ने चेतावनी दिएको छ । सबै राष्ट्रहरूले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरूको पालना नगरेमा विश्वव्यापी कोरोना भाइरस महामारी संकट गहिरिँदै जान सक्ने भन्दै डब्लुएचओले चेतावनी दिएको हो । डब्लुएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोम घेब्रेसेसले सोमबार जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भन्नुभयो, ‘मलाई सोझो भन्न दिनुहोस् कि धेरै देशहरू गलत दिशातिर अघि बढिरहेका छन् । कोरोना भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रूपमा रहिरहेको छ र यसो संकट खराब हुँदै जान सक्छ ।’
उहाँले देशहरूले यो महामारी नियन्त्रणका लागि ‘आधारभूत कुराहरूलाई पालना’ नगर्ने हो भने महामारी जारी रहने र यो झनै खराब बन्दै जाने बताउनुभयो । अहिले थुप्रै कमजोरी रहेको भन्दै उहाँले यस किसिमले हुन नहुने बताउनुभयो । ‘धेरै नै मुलुकहरू गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रूपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखिँदैन, तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटा छन् । यसमा गम्भीर हुनुहोस् ।’
महामारीको चपेटामा फसिरहेको जनजीवनलाई पूर्णतः बन्द नगरिकनै वा एउटा लकडाउनदेखि अर्को लकडाउनसम्म नघिस्रिकनै पनि यो भाइरसमाथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी रहेको टेड्रोसको भनाइ छ ।
त्यस स्थितिमा पुग्नका लागि तीनवटा कुराको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, ‘मृत्युदरलाई घटाउने कुरामा केन्द्रित हुने र संक्रमण दरमा कमी ल्याउने । समग्र समुदायलाई जोगाउने गरी आफ्नै खालका उपायहरू अपनाउने बलियो र सक्रिय समुदायको निर्माण गर्ने । र, बलियो सरकारी नेतृत्व र सूसुचित गर्ने कुरा । यो गर्न सकिन्छ र गरिनुपर्छ ।’
हाल विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३२ लाख ५० हजारभन्दा बढी पुगिसकेको छ । भाइरस संक्रमणबाट विश्वभर अहिलेसम्म ५ लाख ७५ हजार ९ सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।




















