तनहुँमा पहिरोमा परी मृत्युहुनेको संख्या ११ पुग्यो

तनहुँ । तनहुँमा पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । निरन्तरको बर्षाका कारण गएको पहिरोमा परी सोमबार तनहुँमा १० जनाको मृत्यु भएको थियो भने दुई जना वेपत्ता भएका थिए । 

सोमबार वेपत्ता भएकाहरुको ससस्त्र र जनपद प्रहरीले खोजी गरेको भएपनि फेला पर्न सकेको थिएन । मंगलबार डोजरको प्रयोग गरी खोजी गरिरहेकोमा थप एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेलको शव फेला परेको हो । यो सँगै तनहुँमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अर्का हराइरहेका व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।