धादिङ ।धादिङको नीलकण्ठ नगरपालिका बजार क्षेत्र भित्र रहेका सम्पूर्ण संस्थागत विद्यालयहरुले आगामी साउन १५ गतेबाट विद्यालयको पठन पाठन सुरु गर्ने निर्णय गरेका छन् । सोमबार धादिङबेसीमा बसेको नीलकण्ठ नगरपालिका बजार क्षेत्र भित्र रहेका सम्पूर्ण निजी विद्यालयका सञ्चालकहरुको भेलाले साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णण गरेको हो ।
संस्थागत विद्यालयहरु प्याब्सन र एन प्याब्सन कोअर्डिनेसन कमिटिका संयोजक विनोदमान श्रेष्ठ र सचिव रामहरि अधिकारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयहरु सार्वजनिक गर्नुभएको हो । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण विश्व भरका सामुदायिक तथा नीजि विद्यालयहरु बन्द हुन गई पठन पाठनमा समस्या उत्पन्न भएको भन्दै पठन पाठन सुरु गर्न लागिएको एन प्याब्सन कोअर्डिनेसन कमिटिका संयोजक विनोदमान श्रेष्ठले बताउनुभयो ।
भेलाले विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गर्दै अभिभावकहरुलाई समन्वय गरी सम्पूर्ण सुरक्षा व्यवस्था अपनाएर तहगत रुपमा पठन पाठन सुचारु गर्न पहल गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै भेलाले हाल सञ्चालन भइरहेका अनलाइन कक्षाहरुलाई थप व्यवस्थित बनाउँदै परिस्कृत तथा विस्तार गर्ने, धादिङबेसी भित्रका सम्पूर्ण संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको शैक्षिक सत्र २०७६ सालको तलब भुक्तानी गर्नेलगायत तीन वटा निर्णयहरुसमेत गरेको छ ।




















