कतार ।कतारको दोहाबाट शुक्रवार १४९ जना नेपाली स्वदेश फर्केका छन् । दोहाबाट भएको तेह्रांै उडानमार्फत सात जना महिलासहित १४२ पुरुष स्वदेश फर्किएका हुन् ।
नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारीअनुसार दीर्घ रोगी, स्वास्थ्यमा समस्या भएका, रोजगारी गुमाएका र महिलाहरुलाई प्राथमिकताको आधारमा स्वदेश लगिएको हो । कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको आरए २३९२ को उडानबाट प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो ।
कोविड–१९ को समयमा मृत्यु भएका दुई जना नेपालीको शव पनि सोही उडानमार्फत नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ । कतारमा कोभिड–१९ पश्चात दुई हजार ३८६ जना स्वदेश फर्किसकेका छन् भने यहाँबाट ३८ जना नेपालीको शव लगिएको थियो । स्वदेश फर्कने नेपालीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका प्रतिनिधिहरुले विदाई गरेका थिए ।




















